हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा रचनावाचन तथा पुस्तक चर्चा कार्यक्रम भएको छ । कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालका उपाध्यक्ष कृतिका लौडारीको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मेघनाथ खनाल (बन्धु)ले प्रविधिको विकासले महामारीको बीचमा पनि प्रेरणादायी काम गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुहुँदै विश्वभरका सर्जकहरु जोडिन सक्नुपर्ने बताउनुभयो । अहिलेको परिस्थितिमा बालबालिका कुलतमा लाग्ने तथा नकारात्मक बाटोमा लागेको स्थितिमा नवसर्जक साहित्य चौतारीले बालबालिका सिर्जनशीलता तथा व्यक्तित्व विकास गराई अभिभावकलाई गर्व महसुस गराउन सफल भएको बताउनुभयो । कृति प्रकाशनसमेत आमसञ्चारमार्फत् हुने हुँदा इतिहास रच्ने र आफूले लेखिएका कुरा सधैंका लागि स्मरणीय हुने जानकारी खनालले दिनुभएको छ ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमले लेखनशैली र पठनशैलीको विकामा कार्यक्रम सार्थक भएको बताउनुहुुँदै व्यक्तित्व विकासमा सहयोगी हुने बताउनुभयो । लेखाइको परीक्षण साथै घरपरिवारमा समेत अध्ययनको दायरा बढाउन र बाहिरी पुस्तकको अध्ययनबाट अतिरिक्त ज्ञान तथा क्रियाकलापको विकास गराउन सहयोग पुगेको उहाँले बताउनुभयो । रचनावाचन र पुस्तक चर्चालाई परिस्कृत र परिमार्जन गरी निरन्तरता दिँदै जानुपर्नेमा गौतमले जोड दिनुुभयो ।
विभूूति अधिकारी तथा प्रशन्ना चौलागाईंले कार्यक्रममा रचनावाचन तथा पुस्तक चर्चा गर्नुभएको कार्यक्रम भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो । कार्यक्रममा रामेशमोहन अधिकारी, अर्चना दाहाल, होमकुमारी राणाभाटलगायत साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।