हेटौंडाः श्रीकृष्ण प्रणामी सेवा समाजले हेटौंडामा १८ सय जनालाई निशुल्क खाना खुवाएको छ । एक महिनादेखि निशुल्क खाना खुवाउँदै आएको समाजका अध्यक्ष बद्रि चौलागाईले निषेधाज्ञा रहेसम्म गरिब, असाहय, दैनिक ज्याला गर्न नसक्ने, काम गर्न नसक्नेहरुलाई लक्षित गर्दै निशुल्क खाना खुवाउने कार्यक्रम जारी राख्ने बताउनुभयो । मकवानपुरमा सोमबार राति १२ बजेसम्म निषेधाज्ञा जारी छ ।
एक महिनासम्म खाना खुवाउने अभियान संचालन गर्ने लक्ष्यका साथ सुरु गरिएको निशुल्क खाना अभियान निषेधाज्ञा थप भएसँगै लम्बिएको हो । अहिले हेटौंडाको पल्पसा आइसोलेसन सेन्टरमा बिहान र बेलुका प्रणामी सेवा समाजले खाना खुवाउँदै आएको छ । यस्तै हेटौंडा अस्पताल, गोरक्षेश्वर, चौकिटोल, हुप्राचौर, संगम चोक, थानाभर्याङ, कर्रा लगायतको स्थानमा भने प्याकिङ गरिएको खाना वितरण गर्दै आएको उहाँले बताउनुभयो । श्री कृष्ण प्रणामी सेवा समाजले यसअघिको कोरोनाको पहिलो लहरमा समेत निशुल्क खाना खुवाएको थियो ।