रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः हेटौंडा–१ स्थित चाईनाक्वाटर एफसीको आयोजनामा सोमबार भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । चाईनाक्वाटर एफसीले हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

कोरोना महामारीका बेला रगतको अभाव नहोस् भन्ने उद्देश्यले समेत रक्तदान कार्यक्रमको आयोजना गरिएको चाईनाक्वाटर एफसीका अध्यक्ष युनाल मल्लले जानकारी दिनुभएको छ । हेटौंडा–१, चाईनाक्वाटरस्थित अमर मावि परिसरमा चाईनाक्वाटर एफसीका अध्यक्ष युनाल मल्लको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामा, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका मन्त्री खेमराज सापकोटा, कोषाध्यक्ष पिताम्बर बास्तोलाको पनि उपस्थिति रहेको थियो ।

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले डेढ महिनादेखि निषेधाज्ञा जारी राखे पनि रक्तसञ्चार केन्द्रले रगतको माग र आपूर्तिबीच सन्तुलन कायम राखिराखेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । शनिबार मात्रै सचेत नागरिक युवा समूह मकवानपुरले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । समूहको आयोजनामा १२ जनाले रक्तदान गरेका थिए ।