एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत आइतबार राती भएको २ खेलमा अष्ट्रिया र नेदरल्यान्ड्स विजयी भएका छन् । आइतबारको दोस्रो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गरेको थियो ।

खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । उनले मार्सल साबिट्जरको क्रसलाई फार पोस्टबाट गोल गर्न सफल रहेका थिए । त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्कायो । कप्तान गोरान पान्डेभले पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले बचाउन नसकेको बललाई सहजै गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफको ७८ औं मिनेटमा ग्रेगोरीचको गोलमा अष्ट्रिया पुनः अग्रता लिन सफल भयो । दायाँ विंगबाट कप्तान डेविड अलाबाले गरेको उत्कृष्ट क्रसलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए । ८९ औं मिनेटमा अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाको जित पक्का गरे । कोन्राड लाइमरले फ्लिक गर्दै डिफेन्सलाई बिट गरेपछि प्राप्त पासलाई अर्नाउटोभिचले गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल रहेका थिए । यस जितसँगै अष्ट्रियाले समूह सी मा ३ अंक जोडेको छ ।

आइतबारको तेस्रो खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले पराजित गरेको हो । युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि हार बेहोर्न पुग्यो । समूह सी अन्तर्गत आम्स्टरड्याममा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा घरेलु टोली नेदरल्यान्ड्सले आक्रमण बुनेपनि गोलरक्षक जर्ज बुस्कान टोलीका लागि बाधक बनेका थिए । मेम्फिस डिपाए र जिओर्जिनिओ वाइनाल्डमले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका थिएनन् ।

दोस्रो हाफको ५२ औं मिनेटमा भने कप्तान वाइनाल्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाए । देन्जेल डमफ्रिजको क्रसलाई गोलरक्षक बुस्कानले बचाएपनि रिबाउन्डलाई वाइनाल्डमले पहिलो टचमा नै शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । त्यसको सात मिनेटपछि नै घरेलु टोलीले अग्रता दोब्बर पार्यो । वोट वेघर्स्टले पेनाल्टी क्षेत्रभित्र क्लिअर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए । गोल गर्नुअघि डम्फ्रिजले फल गरेको भन्दै युक्रेनका खेलाडीले विरोध गरेअनि रेफ्रीले भीएआरको सहयोग लिँदा गोलले मान्यता पाएको थियो ।

७५ औं मिनेटमा युक्रेनले गोल गर्दै खेलमा फर्कने संकेत दियो । रोमन यारेम्चुकको पासमा कप्तान आन्द्रे यार्मलेंकोले गोल गर्दै युक्रेनलाई खेलमा फर्काए । त्यसको ४ मिनट नबित्दै यारेम्चुकले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । रुस्लान मालिनोभ्स्कीको क्रसलाई उनले हेडरमार्फत गोलमा परिणत गरेका थिए ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सले पुनः अग्रता लियो । डेन्जेल डमफ्रिजले हेडरमार्फत गोल गर्दै टोलीलाई फेरी अघि बढाएका थिए । उनले नाथन आकेको पासमा गोल गरेका थिए । यस जितसँगै नेदरल्यान्ड्सले समूह सी मा ३ अंक जोडेको छ । अंक तालिकामा भने टोली अष्ट्रियाभन्दा पछि छ ।