हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले २६६ औँ साहित्य शृङ्खलाको क्रममा शनिबार ‘बकैया गाउँपालिका विशेष विद्यालयस्तरीय कविता प्रतियोगिता’ भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।

प्रतियोगितामा सहभागी ७ विद्यालयका १३ विद्यार्थीमध्ये बकैया–५, कर्मचुलीस्थित कर्मप्राप्ति माविका समीर भोम्जन, बकैया–५, श्रीपुरस्थित प्रभात माविकी डोल्मा पाख्रिन र बकैया–२, हात्तीसुँडेस्थित बुद्ध माविकी सुमिना दाहाल उत्कृष्ट घोषित भएका छन् । उत्कृष्ट कविहरूलाई भौतिक रूपमा अनुकूल समयमा पुरस्कृत गरिने परिचालन समितिका संयोजक एवम् झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले जानकारी दिनुभएको छ ।

झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षता एवम् संस्थापक अध्यक्ष तथा सल्लाहकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा झरनाका कार्यसमिति सदस्य अमृता लामिछाने र झरना–बकैया बालसाहित्य परिचालन समितिका अध्यक्ष विजय दोङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

बकैया गाउँपालिकालाई मूल थलो बनाई क्रियाशील झरना साहित्यिक परिवारले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियानअन्तर्गत मकवानपुर जिल्लाभरका विभिन्न ६० विद्यालय तथा कलेजहरूमा पुगी काव्य प्रशिक्षण सम्पन्न गरिसकेको छ भने गत वैशाखदेखि बकैया गाउँपालिकाअन्तर्गतका मावि र आधारभूत विद्यालयमा गठित बालसाहित्य समितिलाई सक्रिय राख्ने उद्देश्यले ‘बकैया फलोअप’ कार्यक्रमअन्तर्गत जेठ महिनादेखि बालसाहित्य समितिका विद्यार्थीका बीच प्रतियोगितात्मक कार्यक्रमको थालनी गरिएको अध्यक्ष दीपक गौतमले बताउनुभयो ।

बालसाहित्य समितिका विद्यार्थीलाई विधागत सचेततासहित साहित्यमा कलम चलाउन सक्षम बनाउने उद्देश्यले आगामी असारदेखि हरेक शनिबार दुई घन्टे विधागत साहित्यिक प्रशिक्षण समेत दिइने गौतमले बताउनुभयो । साथै, झरनाले यसै वर्षदेखि मासिक रूपमा साहित्यिक कार्यक्रम गर्ने, भित्तेपत्रिका प्रकाशन गर्ने, विद्यार्थीका साहित्यिक रचनालाई विभिन्न सञ्चारमाध्यममा प्रकाशन गरी विद्यार्थीको सिर्जनशीलता विकास गराउने एकएक मावि तथा आधारभूत विद्यालयलाई ‘उत्कृष्ट विद्यालय’ को रूपमा सम्मानित गर्ने योजनासमेत बनाएको झरना–बकैया बालसाहित्य परिचालन समितिका संयोजक चिरञ्जीवी लामिछानेले जानकारी दिनुभयो ।