हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले सञ्चालन गरिरहेको निशूल्क खाना खुवाउने अभियानअन्तर्गत आइतबारको खानाका लागि हेटौंडा रिसोर्टका सञ्चालक विनोद भोम्जनले सहयोग गर्नुभएको छ । रोटरी क्लबले सञ्चालन गरेको खाना खुवाउने अभियानको १९ औं दिन आइतबार २६३ जनाले खाना खाएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो ।

आइतबार हेटौंडा–४, हुप्रचौरमा १३७ जना, हेटौंडा अस्पतालमा ८५ जना र असहायहरुका लागि घरमुखी सेवा ४१ जना गरी कुल २६३ जनाले खाना खाएको अध्यक्ष सांगामीले बताउनुभयो । यस्तै हेटौंडा अस्पतालमा उपचाररत ९० जनालाई बिहानको नास्ता पनि खुवाएको छ । निषेधाज्ञाको समयमा विपन्न परिवार र तिनका सदस्य भोकै बस्न नपरोस् भनेर रोटरी क्लब अफ मकवानपुरले पञ्चसिद्धि फाउण्डेसनसँगको सहकार्यमा जेठ १२ गतेदेखि खाना खुवाउन सुरु गरेको हो । निषेधाज्ञा जारी रहेसम्म खाना खुवाउने क्लबले जनाएको छ ।