हेटौंडाः आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शिक्षाको क्षेत्रमा पर्याप्त कार्यक्रम र बजेट माग गर्दै नेपाल शिक्षक महासंघ हेटौंडा नगर कमिटीले हेटौंडा उपमहानगरपालिकालाई सुझावपत्र पेश गरेको छ । आगामी आ.व.का लागि बजेट निर्माणको क्रममा शिक्षा बजेट अन्तर्गत रहेर बजेट बिनियोजन गर्नका लागि महासंघले २७ बुँदे सुझाव पेश गरेको हो ।
शिक्षक महासंघ हेटौंडा उपमहानगर समितिका अध्यक्ष दीपक अधिकारीले सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका राजनीतिक सल्लाहकार नरहरी महत, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालको उपस्थितिमा मेयर हरिबहादुर महतलाई बजेट ध्यानाकर्षण गराउनुहुँदै सुझावपत्र बुझाउनुभएको थियो । सुझावपत्र बुझ्दै नगरप्रमुख महतले महासंघले प्रस्तुत गरेका सुझावहरुलाई आगामी बजेट निर्माण गर्दा आधार मान्दै सकेसम्म सम्बोधन गर्दै जाने बताउनुभयो ।
महासंघले संघीय सरकारले प्रदान गर्ने विद्यालय भौतिक निर्माण अनुदान, सशर्त अनुदान, नियमित अनुदान बाहेक पालिकाको बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गरिएको छ । यसैगरी पालिकाले अपनत्व लिनेगरी सामुदायिक विद्यालयमा अनिवार्य रुपमा कक्षा १ देखि नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नुपर्ने, शिक्षकहरुलाई अनिवार्य तालिमको व्यवस्था गर्न, विद्यालयको लागि विशेष प्याकेजको व्यवस्था गर्न, सबै सामुदायिक विद्यालयको विद्युत र खानेपानी महसुल पालिकाबाट भुक्तानी गर्ने व्यवस्था गर्न बजेट विनियोजन गर्ने समेत महासंघले माग गरेको छ ।
विद्यार्थीलाई सहजरुपमा अनलाईन कक्षामार्फत अध्ययन गर्न सबै वडामा इन्टरनेटको व्यवस्था गर्न, विद्यार्थीलाई सीपमुलक शिक्षा प्रदान गर्नका लागि कक्षा ८ देखि नै मोबाईल मर्मत, हाउस वायरिङ, प्लम्बिङलगायतको शैक्षिक तालिमका लागि बजेट बिनियोजन गर्न महासंघले माग गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा महासंघका सहसचिब मालती पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका बागमती प्रदेश समिति सदस्य भोगेन्द्र लुइँटेल, नेपाल शिक्षक महासंघ जिल्ला समिति मकवानपुरका अध्यक्ष जीधराज ढकाल, सचिब राजु गौतम, नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष रमेश प्रसाद लामिछाने, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन नगर समितिका अध्यक्ष मुकुन्द न्यौपाने, सचिब गोपीरमण प्याकुरेल, नेपाल शिक्षक संघ नगर समितिका सचिब श्रीराम लुइँटेल लगायतको सहभागिता रहेको थियो ।