हेटौंडाः रोटरी क्लब अफ मकवानपुरले सशस्त्र प्रहरी बलको १४ नम्बर गणलाई पुस्तक सहयोग गरेको छ । पठन संस्कृतिको विकास गर्न क्लबले मंगलबार हेटौंडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बलको १४ नम्बर गणका गणपति प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीलाई १० हजार रुपैयाँ बराबरका समसामयिक विषयका पुस्तक हस्तान्तरण गरिएको हो ।
कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर सुरक्षा व्यवस्था कायम राख्न खटिनुपर्ने सशस्त्र प्रहरीलाई रोटरी क्लबले पुस्तकसँगै स्वास्थ्य सुरक्षाका लागि सर्जिकल मास्क, ग्लोव्स, सेनिटाइजर, फेससिल्ड पनि हस्तान्तरण गरेको छ । रोटरी क्लबका विष्णुगोपाल महर्जनको संयोजनमा भएको कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कविन सांगामीले गणपति अधिकारीलाई पुस्तकसहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।
रोटरी क्लबको सहयोगप्रति आभार व्यक्त गर्नुहुँदै नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी बल सक्रिय रहेको र समुदायस्तरबाट प्राप्त सहयोगले थप उर्जा मिलेको गणपति अधिकारीले बताउनुभयो । महामारीका बेला स्वास्थ्य सुरक्षाका साथै पठन संस्कृतिको विकासका लागि स्वास्थ्य सामग्री र पुस्तक हस्तान्तरण गरिएको कार्यक्रम संयोजक विष्णुगोपाल महर्जनले बताउनुभएको छ । स्वास्थ्य सामग्री हेटौंडा–१ स्थित ग्लोबल सर्जिकल ट्रेडिङले उपलब्ध गराएको हो भने पुस्तक रोटरी क्लबकै तर्फबाट प्रदान गरिएको हो ।
पुस्तक तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा ग्लोबल सर्जिकल ट्रेडिङका प्रमुख राजन सञ्जेल, पठन संस्कृतिको अभियानका अभियन्ता एवम् रोशनी पुस्तकालयका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ, रोशनी पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।