हेटौंडाः मकवानपुरमा २ स्थानमा निर्माणाधिन एकीकृत बस्तीको काम अन्तिम चरणमा पुगेको छ । मकवानपुरको कैलाश गाउँपालिका र मनहरी गाउँपालिकामा एकीकृत बस्ती निर्माण भइरहेको छ । कैलाश गाउँपालिकाको बलमटारमा १० घर एकीकृत बस्ती निर्माण भइरहेको हो । भूकम्प पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका इन्जिनियर रविन पाठकका अनुसार निषेधाज्ञामा पनि भवनको निर्माण रोकिएको छैन ।

उहाँले मनहरीमा निर्माणाधिन १० घर एकीकृत बस्तीको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । आउँदो असार मसान्तसम्म सबै काम सम्पन्न हुने उहाँले बताउनुभयो । एकीकृत बस्तीका लागि सरकारले जग्गा किन्न प्रतिघरलाई २ लाख र घर निर्माण गर्न ३ लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै कैलाशको र मनहरीको एकीकृत बस्तीको पूर्वाधार विकासको लागि ४०–४० लाख बजेट उपलब्ध भएको इन्जियनियर पाठकले बताउनुभयो । सो रकमबाट बस्तीमा खानेपानी, बिजुली, पर्खाल, बगैचा, सामुदायिक भवन र हरित क्षेत्र बनाइने उहाँको भनाई छ ।

२०७२ सालमा गएको भूकम्प पीडित र बसोबासका लागि जमिन असुरक्षित भएसँगै उनीहरुलाई सुरक्षित बस्ती स्थानान्तरण गर्न लागिएको हो । एकीकृत बस्ती निर्माणमा बस्नेहरु भने अहिले भाडाको घरमा र केही पुरानै जोखिमयुक्त घरमा बसोबास गर्दै आएका छन् ।