हेटौंडाः मकवानपुरमा ६ हजार जनालाई कोरोना विरुद्धको चाइनिज खोप (भेरोसेल) को पहिलो डोज लगाइने भएको छ । बुधबार र बिहीबार २ दिन उनीहरुलाई खोप लगाइने भएको हो । मकवानपुरको दश स्थानीय तहले आफ्नो स्वास्थ्य संस्था मार्फत ६२ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोप लगाउनेछ ।
खोप लगाउन जाँदा नागरिकता लिएर जानुपर्नेछ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार करिब ९६ स्वास्थ्य संस्था मार्फत खोप लगाइँदैछ । हेटौंडा उपमहानगरमा भने १९ वडाबाट नै खोप लगाइने तयारी भएको छ ।
काठमाडौं लगायत अन्य जिल्लामा यसअघि चाइनिज खोप भेरोसेलको पहिलो डोज लिएर जिल्लामा रहेका नागरिकले भने दोस्रो चरणको खोप लगाउन पाउने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुले पहिलो डोजको खोप लगाएको कागजपत्र देखाउनुपर्नेछ । भेरोसेल खोप लगाएको ३ देखि ४ हप्ता भित्र दोस्रो डोजको खोप लगाइसक्नुपर्ने प्रमुख उपाध्यायले बताउनुभयो ।
यसैगरी गएको माघ १४ गतेबाट सुरु भएको कोभिडविरुद्धको भारतीय खोप कोभिशिल्ड भने अहिले नलगाउने भएको छ । यसअघि मकवानपुरका २१ हजार ४ सय ३ जनाले भारतीय खोप कोभिशिल्डको पहिलो डोज लगाएका छन्. । जसमध्ये ६ हजार २ सय ४१ जनाले मात्रै दोस्रो चरणको खोप लगाएका थिए । बाँकी रहेको अन्यलाई भने खोप आएपछि मात्रै दोस्रो डोज लगाउने प्रमुख उपाध्यायले बताउनुभयो ।