हेटौंडाः हेटौंडा अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) का लागि ग्रामीण जागरण तथा विकास संगठन (राडो) मकवानपुरले ल्यापटप र प्रिन्टर सहयोग गरेको छ । हिंसा पीडितको स्वास्थ्य उपचारका लागि हेटौंडा अस्पतालमा स्थापित ओसीएमसीको मागअनुसार ल्यापटप, प्रिन्टरसहित हार्डडिस्क, एन्टी भाइरस, एक्सटेन्सन कड सहयोग गरेको हो ।
एक लाख ५० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको राडो नेपालका कार्यक्रम संयोजक दिपेन्द्र पाठकले जानकारी दिनुभयो । कार्यक्रम संयोजक पाठकले हेटौंडा अस्पतालकी नर्सिङ अधिकृत विष्णुकुमारी श्रेष्ठ, ओसीएसमी फोकल पर्सन अमृता श्रेष्ठ र मनोपरामर्शकर्ता अस्मिता अर्याललाई ल्यापटप, प्रिन्टर हस्तान्तरण गर्नुभयो । राडो मकवानपुरले ओसीएमसीलाई आगामी दिनमा पनि नियमित सहयोग गर्ने जनाइएको छ । राडो मकवानपुरले हिंसापीडितको आयआर्जन तथा जीविकोपार्जनमा सहयोग समेत गरिरहेको छ ।