हेटौंडाः स्वास्थ्य कार्यालय मकवानपुरलाई साढे ६ लाख रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राडो नेपालको समन्वयमा शुक्रबार स्वास्थ्य कार्यालय मकवानपुरलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
शुक्रबार स्वास्थ्य कार्यालय मकवानपुरको परिसरमा आयोजित कार्यक्रममा जिल्ला समवन्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालमार्फत स्वास्थ्य सामग्री हस्तातरण गरिएको थियोे । प्लान ईन्टरनेशनल नेपालले मकवानपुरमा कोरोनाको संक्रमण बढ्दै गएकाले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन स्वास्थ्य कार्यालय मकवानपुर मार्फत वितरण हुनेगरी पिपई, एन्टिजेन्ट किट, भिटिएम, फेसशिल्ड, माक्स लगाएतको स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरलाई पिपिई ७५ थान, एन्टिजेन किट २ सय थान, डेड बडी र्यापिङ ब्याग २५ थान, भिटीएम १ हजार थान, एन ९५ मास्क ८५ थान, फेस सिल्ड २ सय थान, ग्लब्स १ हजार ५ सय थान, स्प्रे पम्प ५ थान र सेनिटाइजर २५ थान प्रदान गरिएको छ । यसैगरी प्लान नेपालले मकवानपुरको अन्य गाउँपालिकाहरुमा पनि स्वास्थ्य साम्रगी सहयोग गर्ने बताएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय, राडो नेपालका कृष्ण धिताल, दिपेन्द्र पाठक लगायतको समेत उपस्थिति रहेको थियो ।