हेटौंडाः कोरोना संक्रमित बालबालिका, युवा, गर्भवती महिला, शारीरिक अपांगता भएका र जेष्ठ नागरिकको समस्यालाई समाधान गर्नका लागि जिल्ला युवा समिति मकवानपुरले आवश्यक समन्वय र सहजीकरण गर्ने भएको छ ।

मकवानपुर जिल्लामा कोभिड–१९ को प्रकोप न्युनिकरण, नियन्त्रण, उपचार र अत्यावश्यक सामग्रीको उपलब्धताका बारेमा सेवा लिने दिने र विभिन्न निकायगत समन्वयका लागि तत्काल सम्पर्क गरि आवश्यक पहल गर्न जिल्ला युवा समितीद्वारा गठित कोरोना महामारी सुचना तथा सहजीकरण केन्द्रको शुक्रवार बसेको भर्चुअल बैठकले उच्च जोखिममा रहेको कोरोना संक्रमितहरुको समस्याको समाधान गर्नको लागि आवश्यक समन्वय र सहजीकरण गर्ने भएको हो ।

विभिन्न कारणले होम आइसोलेसनमा बस्न अप्ठ्यारो भएका कोरोना संक्रमितलाई गौरिटार आइसोलेसनमा पुर्याउन र संक्रमितका समस्याहरुको समाधानको लागि सम्बन्धित कार्यालयको ध्यानाकर्षण गर्ने र जिल्ला युवा समितीको कार्यालयले यसको सहजीकरण गर्ने जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहालले बताउनुभयो ।

बैठकमा जिल्ला समन्वय समितिको प्रमुख रघुनाथ खुलालले जिल्लामा कोरोना संक्रमित बिरामीको चाप कम भएको देखिएता पनि अबस्था अझै जटिल रहेको बताउनुभयो । उहाले कोरोनाको लक्षण देखिनै बित्तिकै कोरोना परीक्षण गर्न र होम आइसोलनमा बसेका उच्च जोखिम रहेका कोरोना संक्रमितहरुलाई अस्पतालमा भर्ना हुनको लागि सहजीकरण गर्न जिल्ला युवा समितिलाई आग्रह गर्नुभयो । उहाँले ग्रामिण क्षेत्रमा संक्रमणको दरमा उच्च वृद्धि भैरहेकोले स्थितिलाइ भयावह हुन नदिन सबै सचेत र सुरक्षित हुन आग्रह समेत गर्नुभयो ।

गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाले संक्रमितले अझै आवश्यकता परेको बेलामा एम्बुलेन्स नपाउने लगायतका धेरै समस्याहरु रहेकाले यसको समाधानको लागि केन्द्रले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो । सिविन बाल हेल्पलाईनका कार्यक्रम अधिकृत झविन्द्र ज्ञवालीले कोरोना महामारीमा बालबालिका र महिला सबैभन्दा समस्यामा पर्ने भएकाले उनीहरुको वास्तविक अवस्थाको विश्लेषण गरी राहत र उद्धारमा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडा शाखाकी प्रमुख ज्योति महत, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका रामजी खतिवडा, युवा संघसंस्थाको तर्फबाट राजेश नगरकोटी, पुष्कर तिमल्सिना र अभि मैनालीले धारणा राख्नुभएको थियो ।