हेटौंडा ४ वडा अध्यक्ष नवीन सिग्देल स्काउटलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै

हेटौंडाः मकवानपुरमा सबैभन्दा बढि कोरोना संक्रमित भएको हेटौंडा–४ मा डिस्इनफेक्ट गर्न थालिएको छ । संक्रमितहरुको घर–घरमा पुगेर डिस्इनफेक्ट गर्ने काम नेपाल स्काउटले गर्दै आएको छ ।

हेटौंडा ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देलले स्काउटलाई डिसइन्फेक्ट गर्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । आवश्यक परेको अन्य सहयोग वडाले गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । निभव पोलिक्लिनिकका डा.नरेन्द्र कुमार झाले स्वास्थ्य सामग्रीसँगै औषधी सहयोग गरेका छन् । २५ लिटर औषधी, २ थान वासेबल पीपीइ, मकवानपुर भेट एण्ड डाइग्नोसिस सेन्टर हेटौंडा–७ बाट ५ लिटर औषधी जेसीआई हेटौंडा लेडीले स्काउटलाई बिहीबार उपलब्ध गराएको हो ।

५० हजार रुपैयाँ बराबरको औषधी उपलब्ध गराएको र आवश्यकता अनुरुप थप स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउँदै जाने जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, जेसीआई हेटौंडा लेडीकी पूर्व अध्यक्ष रश्मि बस्नेत, जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेत, नेपाल स्काउट हेटौंडा उपमहानगर समिति संयोजक दिपेन्द्र रोक्का लगायतको उपस्थिति रहेको थियो ।