
हेटौंडाः कोरोना महामारीको त्रासका बीच युरिया मल खरिद गर्न सहकारीमा किसानको भीड लागेको छ । हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा बिहीबार १० केजीका दरले युरिया मल लिन किसानको भीड लागेको हो ।

मल लिन आएका किसानको भीडमा कोरोना संक्रमणको जोखिमबाट बच्न अपनाउनुपर्ने भौतिक दूरीको मापदण्ड पालना गरिएको थिएन । खाद्यान्न बालीका लागि वर्षकै प्रमुख समयमा युरिया मलको अभाव हुँदा किसानहरु चिन्तित समेत छन् । मकवानपुर जिल्लाका लागि साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनिले युरिया मल विक्री गर्दै आएको छ ।
गत चैत दोस्रो सातादेखि करिब डेढ महिना युरिया मल ल्याउन नसक्नु र अहिले पनि थोरै मात्रामा मात्रै मल ल्याउनुले अभावको स्थिति छ । युरिया मल ल्याउन प्रभावकारी पहल पनि नहुँदा किसान चिन्तित छन् ।