हेटौंडा–९ मा पार्क निर्माण गर्नु अगाडी र पार्क निर्माण हुँदै गर्दा हालको अवस्था ।

हेटौंडाः खोलाको बगरलाई एउटा सुन्दर पार्कमा परिणत गर्नु सुन्दा अचम्म लाग्दो कुरा हो । त्यो पनि वर्षायाममा गाउँ नै बगाउने भेल आउने खहरे खोलाको बगरमा पार्क बनाउन सायदै कसैले पनि सोच्न सक्दैन । तर यस कुरालाई हेटौंडा उपमहानगरपालिका ९ नं. वडाबासीले साकार गरेका छन् ।

हाल हेटौंडा–९ बेतखोल्सीमा बाल उद्यानसहित एउटा सुन्दर पार्क निर्माण भइरहेको छ । सबै वडाबासीको मिहिनेतबाट नै पार्क निर्माण गर्न सुरु भएको हो । पार्क निर्माण गर्न वडाबासीले एकपटक नभएर पटकपटक सहयोग गरिरहेका छन् । र यो काम केही समयदेखी नभएर बिगत २७ वर्षदेखी गर्दै आएका छन् । आज भन्दा २७ वर्ष अगाडीसम्म हरेक वर्ष जस्तो वर्षाको मौसममा भेलबाढी आउने र बस्ती कटान गर्न थालेपछि हेटौंडा–९ को सो क्षेत्रमा स्थानियबासीहरु मिलेर बस्ती जोगाउनका लागि तारबार तथा बि.स.२०५१ साल असारमा स्वर्गीय जननेता मदन भण्डारी तथा जीवराज आश्रितको स्मृतिमा सो बगरमा बृक्षरोपण गरेका थिए ।

जसको नेतृत्व हालका वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासु प्याकुरेल, नकुल अधिकारी लगायतका व्यक्तित्वहरुले गर्नुभएको थियो । बृक्षरोपण पछि सो क्षेत्रलाई बेतखोल्सी सामुदायिक वनमा परिणत गरि संरक्षण गरिदै आइएको थियो । बृक्षरोपणको २६ वर्षपछि ति बिरुवाहरु रुखमा परिणत भई शितलता प्रदान गर्न सक्ने भएको छ । सो समयमा नै पार्क निर्माण गर्ने भावना अनुरुप बृक्षरोपण गरिएकाले हाल पार्क निर्माण गर्न सुरु गरिएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो ।

बृक्षरोपणको समयमा मात्र नभई वडाबासीले पार्क निर्माणको समयमा पनि विभिन्न किसिमले सहयोग प्रदान गरेका उहाँको भनाई रहेको छ । पार्क निर्माणको सुरुवाती काम भने गत वर्षदेखी नै भएका थियो । गतवर्ष कोरोना महामारीका कारण लकडाउन (निषेधाज्ञा) भएको अवस्थामा राहत वितरण गर्दा श्रममा आधारित राहत कार्यक्रम आयोजना गरिएको थियो । जसअन्तर्गत उपमहानगर तथा विभिन्न संघसंस्थाहरुले वडा मार्फत प्रदान गरेको राहत साच्चिकै समस्यामा परेका वडाबासीले प्राप्त गरुन् भन्ने उद्देश्यका साथसो कार्यक्रम आयोजना गर्दै पार्क निर्माणको शुभारम्भ गरिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

सो कार्यक्रममा पार्क निर्माण स्थलमा भएका बनमारा लगायतका झाडी सफा गर्ने कार्यहरु भएका थिए । कोरोनाको समयमा पनि दैनिक २५ देखी ३० जनाका दरले भौतिक दुरीसहित लगभग २ सय जना भन्दा बढीको जनशक्तिले पार्क निर्माण स्थल सफा गर्ने कार्य भएको थियो । राहतका लागि काम लगाइएको भएपनि सो काम वडाबासीले सहयोगका रुपमा मन लगाएर गरेका थिए भने वडाका सबैजसो टोल विकास संस्थाहरुबाट समेत वडाबासीहरु बिना राहत सहयोग स्वरुप सरसफाई कार्यक्रममा सहभागी भएका उहाँले जानकारी दिनुभयो । त्यसपछि लागत सहभागितासहित उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट पार्कमा बाटो खोल्ने कार्य, कम्पाउन्ड पर्खाल लगाउने कार्य भएका थिए ।

पार्क निर्माणमा उपमहानगरपालिकाको मात्र नभई प्रदेश तथा सांसद विकास कोषबाट समेत बजेट प्राप्त भएको छ । दिर्घकालिन योजनाका साथ एउटा सुन्टर पार्क निर्माण गर्न लागिएकाले केन्द्रको समेत ध्यानाकर्षण भएको भन्दै वडा अध्यक्ष भण्डारीले खुसी समेत व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकार तथा पूर्व सांसद कृष्ण प्रसाद दाहालबाट सांसद बिकास कोषबाट झन्डै ५० लाख रुपैयाँ बजेटमा हाल पार्कमा जननेता मदन भण्डारी र जीवराज अश्रितको अर्धकदको शालिक, वाटर फाउण्डेसन, पिकनिक स्टल, आरामगर्ने स्थानलगायतका संरचना निर्माण भइसकेको उहाँले जानकारी दिनुभयो ।

सबैको साथ र सहयोगको कारण छोटो समयमा बाल उद्यानमा विभिन्न संरचना निर्माणको कार्य द्रुत गतिमा अगाडी बढेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । ‘दिव्य बाल उद्यान’ नामाकरण गरिएको उक्त पार्क मकवानपुरको नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास भईरहेको उहाँको भनाई रहेको छ । बाल उद्यानमा गौतम बुद्धको प्रतिमा, नेपाल आमाको प्रतिमा, ध्यान केन्द्र, विभिन्न वनस्पतीजन्य बोट विरुवा रोप्ने लगायतका काम गरिने र यसबाट पर्यटकिय क्षेत्रमा टेवा पु¥याउने लक्ष्य लिईएको उहाँले बताउनुभयो । निर्माणधिन मदन–आश्रृतको अर्धकदको शालिकको आगामी असार १४ गते अनावरण गरिने समेत उहाँले जानकारी दिनुभयो । उक्त बाल उद्यानको निर्माण सङ्गै मकवानपुरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि अर्को नयाँ गन्तब्य थपिने उहाँले बताउनुभयो ।