हेटौंडाः हेटौंडाका एक कोरोना संक्रमित व्यक्तिको आज बिहिबार चितवनमा मृत्यु भएको छ । उपचारको क्रममा चितवनमा उनको दिउँसो ४ बजेको समयमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ५० वर्षीय पुरुष रहेका छन् । सुगर रोग समेत भएका उनलाई कोरोना संक्रमण भएपछि १० दिन अघि चितवन लगिएको थियो । कोरोना पुष्टि भएर २ दिनसम्म होम आइसोलेसनमा बस्दैगर्दा स्वास्थ्यमा समस्था देखिएपछि उनलाई चितवन लगिएको परिवारले जनाएको छ ।
उनको शव हेटौंडा नै ल्याइएको छ भने अन्तिम संस्कारको तयारी भइरहेको छ । तर उनलाई चितवनमा नै अन्तिम संस्कार गर्न आग्रह गरिएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।