हेटौंडाः मकवानपुर जिल्ला शिक्षा, खेलकुद र कलाको हिसाबले अगाडि रहेको पाइन्छ । साहित्य जगतमा पछिल्लो समय चर्चामा रहनुभएका एक व्यक्ति हुनुहुन्छ, १७ वर्षीया प्राश्ना चौलागाईं । उहाँ हेटौंडा–५ स्थित पुष्पालाल पार्कनजिक बस्नुहुन्छ ।
पठन र लेखन कार्यमा रुचि राख्नुहुने चौलागाईं बाल साहित्यकार तथा सर्जकका रुपमा सम्मानितसमेत हुनुभएको छ । भनिन्छ, समाजमा छोरी पराइकी हुन् । तर एउटा छोरीको रुपमा जन्मनुभएका चौलागाईंले साहित्यको माध्यमबाट नै देश विदेशमा चर्चित बन्ने सपना देख्नुभएको छ ।
चौलागाईं नवसर्जक साहित्य चौतारी नेपालको अध्यक्षको रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आउनुभएको छ । अहिले कक्षा ११ मा हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा अध्ययनरत हुनुहुन्छ । कक्षा ७ मा अध्ययन गर्दै कविता लेख्न सुरु गर्नुभएका उहाँ अहिले एउटा सर्जकका रुपमा स्थापित हुन सफल हुनुभएको छ । आफ्नो सफलतामा मुक्तककार दीपक गौतमको ठूलो भूमिका रहेको उहाँले बताउनुभयो ।
चौलागाईंको नेतृत्वमा अहिले साहित्य चौतारीले सर्जकहरु जन्माउनका निम्ति स्थापना कालदेखि नै नवसर्जक केन्द्रित साहित्य प्रशिक्षण कार्यक्रम गर्दै आएको छ । दोस्रो वर्षमा बैशाख १ गतेदेखि निरन्तररुपमा दैनिक विभिन्न विधामा कविता लेख्ने, मुक्तक, गजल, नाटक लेखन, निबन्धजस्ता रचनाहरु लेख्न सिकाउने कार्य गरिँदै आएको छ ।
त्यसैगरी नवसर्जक साहित्य चौतारी नेपालको स्थापना दिवसमा राष्ट्रिय कविता प्रतियोगिता समेत भएको बताउनुहुन्छ, चौलागाईं । अगामी जेठ १५ गते भर्चुअल माध्यमबाट राष्ट्रव्यापी कविता गोष्ठी कार्यक्रम हुने उहाँले बताउनुभयो । यसै अवसरमा उत्कृष्ट १० जना कविलाई वाचनको अवसर दिइने पनि उहाँले जानकारी दिनुभयो ।
यसैगरी ३ जना विजेतालाई ३ हजार नगदसहित पुस्तक र सम्मान गरिने चौलागाईंले बताउनुभयो । यसका निम्ति छनोटको तयारी भइरहेको उहाँले बताउनुभयो । ५ वर्षको अनुभवमा आफूले धेरै नेपाली लेखनशैलीलाई शुद्धाशुद्धी, कविताको छन्द, गद्यलाई प्रचुररुपमा आफ्ना प्रतिभा प्रष्फुटन गराउन सकेको उहाँले बताउनुभयो ।
किसान शीर्षकको पहिलो कविता लेखेर साहित्यिक रचना सुरु गर्नुभएका चौलागाईंले २० भन्दा बढी कविता लेख्नुका साथै अन्य रचनाहरुमा समेत कलम चलाउनुभएको छ । समाजमा हुने विकृति तथा विसंगतिमाथि बेजोडरुपमा कलमको माध्यमबाट प्रस्तुत गर्न सकेमा सामाजिक रुपान्तरण अवश्य हुने उहाँले बताउनुभयो । जस्तै छोरा र छोरीबीच हुने भेदभाव, नारी हिंसा, भ्रष्टाचार, कुरितिका विरुद्ध आफ्नो कलमले सशक्त बनाउने दावी गर्नुहुन्छ, चौलागाईं । भित्तेपत्रिकासमेत प्रकाशनमा ल्याइरहेको चौतारीले अबका दिनमा सामूहिक पत्रिका प्रकाशनको तयारी गरिरहेको उहाँले बताउनुभयो ।
विकृति र विसंगतिविरुद्ध खुलेर कलमको माध्यमबाट साहित्यकारहरुले लेखेर सम्बन्धित निकायको ध्यानाकर्षण हुने हुँदा समाजको दर्पणका रुपमा साहित्य जगतलाई चिनाउन सकिने उहाँको विचार छ । समाजले नै एउटा नारीलाई अपहेलना गरिएको अवस्थाका साथै बलात्कारका घटना बढ्दो स्थितिमा रहँदा आफूले यस्ता घटनाविरुद्ध खुलेर लेख्न पाउनुमा गौरव महासुस गर्नुहुन्छ, चौलागाईं ।
कति बालबालिकाले यत्तिकै समय खेर फालेको अवस्था छ र आफ्नो भविष्य कस्तो हुन्छ भन्नेसमेत पत्तो नभएकाहरु हजारौं छन् । तर यत्ति सानै उमेरमा साहित्यमा भविष्य खोजिरहनुभएका चौलागाईं अन्य बालबालिकाको प्रेरणाका स्रोत हुनुभएको छ । आफ्नो परिवारको साथ र सपोर्टले आफू यहाँसम्म आउनमा धेरै सहयोग पुगेको उहाँले बताउनुभयो ।
धेरै मिहिनेतपछि सक्षमरुपमा लेख्न सकेको र सिक्दै रहेको हुँदा अझै आफ्ना कलालाई माथि पु¥याउन हरपल मिहिनेत र साहित्यमा लागिरहने बताउनुहुन्छ, चौलागाईं । हरेक बालबालिकालाई आफूहरुले प्रदान गर्दै आएको साहित्यिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन उहाँले आग्रह गर्नुभयो । भावी पुस्तालाई सही बाटोमा हिँड्न र देशका निम्ति असल नागरिकका रुपमा स्थापित गराउन आग्रह गर्नुभयो । हाम्रै सन्तानले लेख्न सके अवश्य देश विकास हुने हुँदा सन्तानको भावना र इच्चाअनुरुप प्रेरणा दिन सक्नुपर्ने उहाँले बताउनुभयो । साहित्यमा सम्बन्धित निकाय र सरकारबाट केही सहयोग भए विकट ठाउँका कयौं प्रतिभा भएका बालबालिकाहरु साहित्यकारका रुपमा स्थापित हुनसक्ने उहाँले बताउनुभयो ।