नेपाल औषधी व्यवसायी संघ मकवानपुरले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति ।

हेटौंडाः कोभिड–१९ को संकटका बेला स्थानीय प्रशासनले औषधी पसलको अनुगमन गरी कागजपत्र खोजी गर्दै औषधी पसल नै सिल गरेको विषयलाई लिएर औषधी व्यवसायी संघ मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । कोभिड–१९ संक्रमणको जोखिमका बीच पर्याप्त औषधी, स्वास्थ्य उपचार सामग्रीको अभावको विषयमा सरोकारवालाको ध्यानाकर्षण गराउनुपर्ने स्थानीय प्रशासनले अनुगमनको नाममा हुलका हुल आएर व्यवसायीलाई हतोत्साहित गर्ने काम भएको भन्दै संघले मंगलबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

केही दिनयता स्थानीय प्रशासनले हेटौंडाका औषधी पसलको अनुगमन गरेर सिलबन्दी गर्नुका साथै बढी मूल्यमा स्वास्थ्य उपकरण विक्री गरेको भन्दै व्यवसायीलाई पक्राउ समेत गरेको थियो । कोभिड–१९ महामारीकै कारण स्वास्थ्य उपकरणको माग र आपूर्तिबीच सन्तुलन कायम हुन नसक्दा बजार मूल्यमा पनि उतार चढाव भइरहेको भन्दै सामान्य अवस्थाको जस्तो बजार मूल्य नरहेको औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले बताउनुभएको छ ।

व्यवसायीबाट हुने कमिकमजोरीप्रति संघले जिम्मेवार भूमिका निर्वाह गर्ने उल्लेख गर्नुहुँदै श्रेष्ठले भन्नुभयो, ‘यो महामारीमा नागरिकको स्वास्थ्य उपचारमा व्यवसायीले अत्यन्त जोखिम मोलेर काम गरिरहँदा स्थानीय प्रशासनले औषधी पसल, पोलिक्लिन दर्ता र नवीकरणको विषयलाई लिएर अनुगमन गर्ने र सिल गर्ने कामले व्यवसायी निरुत्साहित भएका छन् ।’

औषधी पसल, पोलिक्लिनिक दर्ता र नवीकरण कुन निकायले गर्ने भन्ने निश्चित नहुँदा व्यवसायीले लगानी गरेका संरचनाहरु उपयोगमा समेत ल्याउन नपाएको पनि श्रेष्ठको भनाइ छ । व्यवसायीका समस्याका विषयमा आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीसँग संघले ध्यानाकर्षण समेत गराएको थियो ।