हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा रहेको मनहरी कोभिड अस्पताललाई २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । मनहरी निवासी ५ जना महिला दिदीबहिनीहरुले ५/५ हजार रुपैयाँका दरले २५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरुलाई उपचारका लागि आवश्यक पर्ने अक्सिजन उपलब्ध गराउन तथा अक्सिजन सिलिन्डर भर्ने कार्यका लागि भन्दै महिला दिदीबहिनीहरुले उक्त रकम प्रदान गर्नुभएको उहाँले बताउनुभयो । मनहरी निवासी लक्ष्मी प्रजा, रेनु पुडासैनी, गंगा पाठक, अनिता कर्माचार्य र मन्जु सेढाईले संयुक्त रुपमा उक्त रकम सहयोग गर्नुभएको हो ।
यस्तै मनहरी कोभिड अस्पतालमा आजको दिनमा ४ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । २ जना महिला र २ जना पुरुष संक्रमित सबैलाई अक्सिजन दिएर थप उपचार भइरहेको अस्पतालका इन्चार्ज ज्योती लुइटेलले जानकारी दिनुभयो ।