हेटौंडाः हेटौंडा उपमहानगरभित्र अटो एम्बुलेन्स संचालनमा ल्याइएको छ । नगरको १९ वडामा दुई–दुई अटो एम्बुलेन्स संचालनमा छ । अटो एम्बुलेन्सले कोभिड–१९ संक्रमितलाई बोक्ने, अस्पताबाट डिस्चार्ज हुने व्यक्तिहरुलाई मात्र बोक्ने गर्दछ । तर अहिले अटो एम्बुलेन्सहरुले संक्रमित बाहेकका व्यक्तिहरुलाई पनि बोक्न थालेका छन् ।
हेटौंडामा संचालनमा रहेको ३८ अटोमध्ये केहीले बिरामी बोक्नै छाडेको चालकहरुले बताएका छन् । ‘अटोलाई एम्बुलेन्स त बनाइयो, अन्य यात्रुलाई बोक्न मिल्दैन । दिनभर कुर्दासमेत तेल खर्च बल्ल उठ्छ । उही सेवामुलक मात्र भइरहेको छ ।’ अटो एम्बुलेन्स चालक विकास लम्साल भन्छन्, ‘हामीलाई एक थान पिपिई मात्र नगरले उपलब्ध गरायो ।’ मास्क र सेनिटाइजर समेत आफैले किन्नुपर्छ । अझ पिपिई त च्यातिन थालेको उनले सुनाए । ‘भएको पिपिई पानिमा भिजे भने चिसै लगाएर चलाउनुपर्छ । फेर्नलाई अर्को सेट पनि छैन ।’ उनले भने ।
संक्रमितलाई मात्र राख्ने अटोलाई निसंङ्क्रमण भने गरिदैन । आफुसँग भएको सेनिटाइजर नै छर्कने गरेको लम्सालले बताउनुभयो । नगरले थप एक थान पिपिई सेट, मास्क र सेनिटाइजर उपलब्ध गरादिनुपर्ने उहाँ भन्नुहुन्छ । दिनभर पिपिई लगाएका हुन्छौ बेलुका घरपुगेर सरफ पानिमा धोएर भोलिपल्ट लगाउनुपर्छ । कहिले त सुक्दैन चिसै पनि लगाउनुपर्छ । यता उहाँको श्रीमतीलाई कोभिड पुष्टि भएको ११ दिन भयो । लम्साललाई भने संक्रमण भएको छैन ।
बजारमा अटो एम्बुलेन्सले पहिलेको भन्दा बढी भाडा लिने गरेको चालकहरु स्वीकार गर्छन । स्वास्थ्य सामग्री आफैले किन्नुपर्दा बढी भाडा लिने गरेको अर्का अटो एम्बुलेन्सका चालक टोक बहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार अटोलाई एम्बुलेन्स बनाएको र अन्य यात्रुहरु हाल्न नपाइने हुँदा एम्बुलेन्सकै बराबर भाडा लिने गरेको हो । यद्यपि अटो एम्बुलेन्सले संक्रमितहरुलाई अस्पताल आउन सहज भएको छ । उनीहरुले आफुहरुलाई मास्क, सेनिटाइजनर र थप एक थान पिपिई उपलब्ध भए अझ सहज हुने बताएका छन् । केही वडाले आफ्नो वडामातहतका एम्बुलेन्स चालकलाई उपलब्ध गराए पनि उनीहरुले भने पाउन सकेका छैनन् ।