हेटौंडा–९, पशुपतिनगरका जितेन्द्र कर्माचार्य आइतबार रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्नुहुँदै ।

हेटौंडाः ठूला अस्पताल नहुँदा हेटौंडामा रगतको खपत त धेरै हुँदैन । तर पनि बेला बेलामा रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भइरहन्छ । रगतको अभाव भइहाले पनि रगत आवश्यक पर्ने विरामीका आफन्त रक्तसञ्चार केन्द्रबाट भने खाली हात फर्कनुपर्ने अवस्था रहँदैन । रक्तसञ्चार केन्द्रका प्राविधिकहरुले रक्तदाताहरुको सूचि पल्टाएर पूर्वरक्तदातालाई रक्तसञ्चार केन्द्रमै बोलाएर रक्तदान गराउँदै आवश्यक पर्ने विरामीका आफन्तलाई उपलब्ध गराइरहेको हुन्छ ।

सोही क्रममा आइतबार रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिकले ११ जना रक्तदातालाई रक्तसञ्चार केन्द्रमै बोलाएर रक्तदान गराएका छन् । यसअघि शनिबार ४ जनाले रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । ए पोजेटिभ र एबी पोजेटिम रगतको कमि भएपछि पूर्वरक्तदातालाई बोलाएर रक्तदान गराइएको प्राविधिक सापकोटाको भनाइ छ । रगत आवश्यक भएपछि पूर्वरक्तदाताको सूचि हेरेर रक्तदान गरेको ४/५ महिना भएका रक्तदातालाई बोलाउने गरेको सापकोटा बताउनुहुन्छ ।

‘रगतको अभाव भयो भने पूर्वरक्तदाता बोलाएर रक्तदान गराउने गरेका छौं‘, रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले भन्नुभयो, ‘रक्तदाताहरु पनि तुरुन्तै आएर रक्तदान गर्नुहुन्छ । रक्तसञ्चार केन्द्र हेटौंडाले वार्षिक करिब ३ हजार युनिट रगत संकलन गर्ने गरेको छ । यी रक्तदातामध्ये १५ देखि २० प्रतिशत रक्तदातालाई आवश्यक पर्दा रक्तसञ्चार केन्द्रमै बोलाएर रक्तदान गराउन सकिन्छ ।’

विभिन्न संघ, संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रम नै मागअनुसारको रगतको आपूर्ति गर्ने प्रमुख आधार हो । कोरोना संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञाका कारण रक्तदान कार्यक्रम हुन नसक्दा रगतको केही अभाव भएको हो । यसैबीच मंगलबार जेसीआई हेटौंडा लेडीले रक्तसञ्चार केन्द्रमै रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।