हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरका ३ जना र बारा जिल्लाका १ जना छन् ।
हेटौंडा अस्पतालमा उपचाररत मकवानपुरको बकैया गाउँपालिका–११ का ८५ वर्षीय पुरुषको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको हेटौंडा अस्पतालको कोभिड वार्डका सूचना अधिकारी राजदेव झाले जानकारी दिनुभएको छ । यस्तै शुक्रबार साँझ ६ बजेर १५ मिनेटमा मकवानपुरको मनहरी गाउँपालिका–९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ भने शुक्रबार राती १० बजेर १५ मिनेटमा बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै शनिबार बिहान हेटौंडा–११ का ६० वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी झाले जानकारी दिनुभयो । हेटौंडा अस्पतालमा उपचारका क्रममा हालसम्म ४२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । अहिले हेटौंडा अस्पतालमा ४५ जना कोरोना संक्रमित उपचाररत छन् ।