सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–३ की कोरोना संक्रमित दुई साताकी सुत्केरीको बुधबार दिउँसो हेटौंडा अस्पतालमा मृत्यु भएको छ । सोमबार गाउँपालिकामै एन्टीजीन विधिबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ३० वर्षीया महिलालाई उपचारका लागि मंगलबार हेटौंडा अस्पताल ल्याइएको थियो ।

दुई साताअघि चितवनस्थित भरतपुर अस्पतालमा तेस्रो पटक शल्यक्रिया विधिबाट सन्तान जन्माएकी महिलामा रक्तअल्पतासम्बन्धी समस्या रहेको चिकित्सकको भनाइ छ । श्रीमानमा कोरोना संक्रमण पुष्टि भएपछि सुत्केरी महिलाको पनि परीक्षण गरिएको हो । उपचारको क्रममा बुधबार दिउँसो साढे ३ बजेको समयमा महिलाको मृत्यु भएको हेटौंडा अस्पतालको कोभिड वार्डका इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिनुभएको छ ।

यसअघि हेटौंडा अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक पुरुषको बुधबार बिहान मृत्यु भएको थियो । हेटौंडा–५, पिप्लेका ६२ वर्षीय पुरुषको बुधबार बिहान ७ बजेर १५ मिनेटको समयमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।