हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा समितिले यही जेठ २० गतेसम्ममा सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यार्थीको वार्षिक नतीजा प्रकाशन गर्न निर्देशन दिएको छ । हेटौंडा उपमहानगरको शिक्षा समितिको बुधबार बसेको बैठकले कक्षा ८ बाहेक १ देखि ९ कक्षासम्म आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको वार्षिक नतीजा प्रकाशन गर्न निर्देशन दिएको हो ।
वार्षिक परीक्षा सञ्चालन गरेका विद्यालयको हकमा सोहीअनुसार गर्न निर्देशन जारी गरेको शिक्षा समितिले वार्षिक परीक्षा नभएको भए सम्भव भएसम्म भर्चुअल माध्यमबाट परीक्षा गर्न भनेको छ । भर्चुअल माध्यमबाट परीक्षा सञ्चालन सम्भव नभए त्रैमासिक परीक्षा, निरन्तर विद्यार्थी मूल्यांकका साथै अन्य शैक्षिक गतिविधिलाई आधार मानी वार्षिक मूल्यांकन तयार पार्न निर्देशन दिएको छ ।
वार्षिक परीक्षाको नतीजा प्रकाशन गर्ने क्रममा सामाजिक सञ्जालमा विद्यार्थीको नाम उल्लेख नगर्न शिक्षा समितिले स्पष्ट पारेको छ । सामाजिक सञ्जालबाट नतीजा सार्वजनिक गर्दा सिम्बोल नम्बर वा रोल नम्बर मात्रै समावेश गर्न भनिएको छ । नतीजा सार्वजनिक गर्दा ग्रुप म्यासेज, मोवाइल फोन, इमेल, म्यासेन्जर च्याट आदि माध्यमको प्रयोग गर्न भनिएको छ । कक्षा ८ को हकमा यथाशिघ्र निर्णय गरिने जानकारी गराउँदै शिक्षा समितिले भर्ना प्रक्रिया असार पहिलो साताबाट मात्रै सुरुवात गर्न पनि निर्देशन दिएको छ ।