प्रस्तावित रंगाशाला क्षेत्रमा खेलमैदान सम्याउँदै ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–४, चिउरी बगैंचामा रंगाशाला निर्माण कार्य कार्य सुरु भएको छ । १० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्न सुरु गरिएको हो ।

बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ र भीमफेदी गाउँपालिकाबाट २० लाख रुपैयाँसहित जम्मा ५० लाख बजेटमा रंगशाला निर्माणको काम सुरु गरिएको छ । पहिलो चरणमा खेलमैदान बनाउने र दोस्रो चरणमा प्याराफिट बनाइने बताइएको छ । चालु आर्थिक वर्षमा प्राप्त ५० लाख रुपैयाँले खेलमैदान सम्याउने, मेसिनरी वाल लगाउने, शौचालय र ढल निर्माण गर्ने कार्य भएको छ ।

गाउँपालिकाले खेलकुद विकास समिति गठन गरेको छैन । रंगशाला निर्माण गर्न स्थानीयले उपभोक्ता समिति गठन गरेको स्थानीय सागर पाण्डेले जानकारी दिनुभएको छ । आगामी वर्ष खेलमैदानमा पर्खाल लगाउने र गोल्डकप प्रतियोगिता आयोजना गरेर रंगशालालाई क्रमशः निर्माण गर्दै जाने योजना रहेको पाण्डेले बताउनुभएको छ ।