हेटौंडाः मंगलबार बिहान ३ घण्टा हेटौंडा बजार खुल्यो । अतिआवश्यक दुध, तरकारी, फलफुल, खाद्यान्न पसल खुलेका थिए । कोभिड–१९ का संक्रमितहरु थपिदै गएपछि प्रशासनले सातामा मंगरबार र शुक्रबार दुई दिनमात्रै बजार खोल्न पाउने निर्णय गरेको छ । बजारमा ग्रामिण क्षेत्रमा कमै मानिसहरु आएका थिए भने सहरी क्षेत्रको मानिसहरुको चहलपहल बढी थियो ।

कोही औषधी, कोही खाद्यान्न त कोही तरकारी किन्न बेस्त थिए । आज बजार प्रवेश गर्ने कसैलाई पनि प्रहरीले सोधिखोजि गरेन । यसअघि प्रहरीले सबैलाई रोकेर कहाँ जाने के कामको लागि हो, सोधिखोजी गर्दे आएको थियो । मर्निङ वार्क गर्दै एक मुठा साग लिएर गएका छन् हरि मिजार । उहाँले ताजा तरकारी लिन बजार आइपुगेको बताउनुभयो । घरैबस्दा पट्यार लागेर बिहान बजार खुलेकोले आएको उहाँको भनाई छ । यस्तै बिहान हिडडुल गर्दै बजारसम्म आइपुगेका छन् महेन्द्र यादव । खासै काम नभएपनि उहाँ बजारको चहलपहल हेर्न उत्सुक देखिन्थ्ये ।

उनीहरुजस्तै हेटौंडा बजार नजिकैका अधिकांश मानिसहरु ताजा तरकारी तथा थोरै परिणामको खाद्य सामग्री लिन बजार निस्केका छन् । कोही मर्निङ वार्क गर्दै आएका छन् । त्यसो त प्रशासनले बिहान र साँझ हिडडुल गर्न निषेध गरेको छ ।

प्रशासनले सातामा दुई दिन बजार खोल्न दिएपनि हेटौंडा थोक तरकारी बजार, माछामाछु पसल बन्द गरेको छ । यस्तै खोपेगल्ली स्थित तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने आदेश गरेपनि मानिसहरुको सोही ठाउँमा भिडभाड देखियो । निषेधाज्ञा कडाई गरेपनि हेटौंडामा संक्रमितहरुको संख्यामा कमि आउन सकेको छैन । दैनिक १ सय ५० जनाभन्दा बढीले स्वाब नमूना कोरोना परीक्षणको लागि दिने गरेका छन् । सोमबार मात्रै हेटौडामा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडामा दैनिक १ सय ५० बढी संक्रमित थपिदै गएका छन् ।