सहयोग रकम हस्तान्तरण गर्नुहुँदै माधव कुमार न्यौपाने ।

हेटौंडाः पिप्ले युवा क्लबले हेटौंडा–५ स्थित क्याम्पाचौरमा निर्माण गरिरहेको रंगशालालाई कोरोना भाइरसका कारण आइपरेको संकटको समयमा पनि आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएका छन् । खेलकुदको विकासमा अग्रसर रहेको यस क्लबले बनाउन लागेको मिनी रंगशालालाई विभिन्न दाताहरुले व्यक्तिगतरुपमा सहयोग प्रदान गरेका हुन् ।

हाल रंगशालामा प्याराफिट निर्माणको क्रममा रहेको छ । यसका लागि विभिन्न व्यक्तिहरुले नगद तथा जिन्सी सामानका रुपमा सिमेन्ट, गिटी, बालुवा तथा ढुङ्गा सहयोग गरेको क्लबले जनाएको छ । हालसम्म प्याराफिट निर्माणका लागि १ लाख ५५ हजार १ सय २० रुपैयाँ नगद, ६ सय ८६ बोरा सिमेन्टका साथै गिटी, बालुवा तथा ढुङ्गा सहयोग प्राप्त भएको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभएको छ ।
क्लबले गौरवको योजनाका रुपमा लिएको यस रंगशालालाई सहयोग गर्न दाताहरु आफैंले सम्पर्क गरेर सहयोग प्रदान गरेको उहाँले बताउनुभयो ।

रंगशाला निर्माणका लागि हेटौंडा–५ पिप्लेका माधवकुमार न्यौपानेले २५ हजार रुपैयाँ, सुदिप सापकोटाले १५ हजार ५ सय १० रुपैयाँ, विष्णुप्रसाद सापकोटा र डिलप्रसाद भट्टले १५/१५ हजार रुपैयाँ, चिसापानीका अश्वीनराज गिरीले ११ हजार रुपैयाँ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराज, पिप्लेका राजीव कार्की, आशीष ढुङ्गाना, हरिप्रसाद चौलागाईं र गौरव खरेलले १०/१० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ ।

यस्तै क्याम्पाडाँडाका विष्णुप्रसाद दंगालले ६ हजार रुपैयाँ, प्रल्हाद घिमिरेले ५ हजार ५ सय ५५ रुपैयाँ, धनसुन्दर श्रेष्ठले ५ हजार ५५ रुपैयाँ, सम्राट अधिकारीले ५ हजार रुपैयाँ र जिकेश सापकोटाले २ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको जनाइएको छ ।

यसैगरी प्याराफिट निर्माणका लागि विशाल महतको टिमबाट २ सय बोरा सिमेन्ट सहयोग प्राप्त भएको क्लबले जानकारी दिएको छ । यस्तै पिप्लेका विकास जालान र हरि रिमालबाट १/१ सय गरी २ सय बोरा, काव्यमणि अधिकारीबाट ५१ बोरा, मकवानपुर टेक्निकल इन्स्टिच्युट, रामचन्द्र राई र रवीन्द्र घिमिरेबाट ५०/५० बोरा सिमेन्ट सहयोगका रुपमा प्राप्त भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । यसैगरी विवेक शर्माको टिमबाट २५ बोरा, भानु थपलिया र निरञ्जन विष्टबाट २०/२० बोरा तथा गोपाल भट्टराई र चक्रधर बिडारीबाट १०/१० बोरा सिमेन्ट सहयोग प्राप्त भएको छ ।

प्याराफिट निर्माणकै लागि चिसापानीका सागर जोशीबाट २ ट्याक्टर तथा हेटौंडा–५ का शंकर न्यौपानेबाट २ ट्रिपर बालुवा, नवराज आचार्य तथा राजाराम कार्कीबाट ३/३ ट्रिपर गिटी र रमेश मैनालीबाट २ ट्रिपर ढुङ्गा सहयोग मिलेको क्लब अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । यस्तै उज्ज्वल घिमिरेले ४ हजार १ सय रुपैयाँ बराबरको फुटबल मैदानमा घाँस उमार्नका लागि मलखाद प्रदान गर्नुभएको छ ।

हाल हेटौंडा उपमहानगरपालिकाको ४५ लाख रुपैयाँ बजेटमा रंगशालाको प्याराफिट निर्माणको काम सुरु भएको छ भने ५ नम्बर वडा कार्यालयको ११ लाख रुपैयाँ बजेटमा रनिङ ट्रयाक निर्माण सम्पन्न भइसकेको छ । यस्तै मकवानपुर जिल्ला फुटबल संघको ३ लाख रुपैयाँ आर्थिक सहयोगमा फुटबल मैदान व्यवस्थापनको कामहरु भएको क्लबले जनाएको छ ।

१० हजार दर्शक क्षमताको प्याराफिट निर्माण गर्ने उद्देश्यका साथ काम भइरहेकाले सो काममा लागि ३ करोडभन्दा बढी खर्च लाग्ने भएका कारण सो काम सम्पन्न गर्न विभिन्न निकायहरुबाट सहयोगका साथै हेटौंडा उपमहानगरपालिकासँग ठूलो आशा राखिएको उहाँले बताउनुभयो ।

यसै वर्षको हेटौंडा गोल्डकप यस मैदानमा गर्ने तयारीका साथ क्लबले काम गरिरहेको छ । रंगशाला निमांणपछि हेटौंडाका दर्शकका लागि प्याराफिटको समस्या समाप्त हुने अध्यक्ष घिमिरेको भनाई रहेको छ ।