हेटौंडाः कोरोना संक्रमित बिरामीहरुलाई उपचारको क्रममा अक्सिजनको अभाव हुन नदिन बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरीले अक्सिजन सिलिन्डर संकलन कार्य तिब्रताका साथ अघि बढाएको छ । प्रदेश प्रहरीद्वारा हालसम्म १२९ थान भरिएका र ५४१ थान खाली सिलिन्डर गरी कुल ६७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अबस्था प्रति संवेदनशील भै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरीएको र संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको कार्यालयले जनाएको छ ।
उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरिएको जनाइएको छ । साथै संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिण्डरहरु अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत उपलब्ध गराउने कार्य गरिएको पनि बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक राज कुमार सिलवालले जानकारी गराउनुभएको छ ।
जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरिएको सिलिन्डर र ४० थान खाली सिलिण्डर उपलब्ध गराएको छ । स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, त्यसैगरी हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल र मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरिएको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गरिएको पनि कार्यालयले जनाएको छ ।