हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा थप संक्रमितको उपचार नहुने भएको छ । अहिले ४५ जना संक्रमितहरुलाई अस्पतालले उपचार सेवा दिइरहेको छ । उनीहरुमध्ये ७ जनालाई उच्च अक्सिजन दिनुपरेको छ । यस्तै आइसियू र एचडियू बेड भरिएसँगै थप संक्रमितको उपचार दिन सक्ने अवस्था नरहेको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफलेले जानकारी दिनुभयो ।

उहाँले संक्रमितहरु सबैलाई अक्सिजनको सहायतामा राख्नुपरेको भन्दै अक्सिजन अभाव हुन थालेको बताउनुभयो । अहिले दैनिक २ सय २० सिलिण्डर आवश्यक छ । मकवानपुरमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरु बारा, चितवन, नवलपरासिको भर पर्नुपरेको छ ।

अक्सिजन सिलिण्डर रिफिल गर्न पठाइए पनि उतै आवश्यक भएको भन्दै अक्सिजन नपठाएको काफ्लेले जानकारी दिनुभयो । ‘अब अस्पतालमा अक्सिजन अभाव हुँदैछ । जसोतसो सिलिण्डर संकलन भएपनि समयमा रिफिल नगरिदिँदा समस्या सिर्जना भयो । १५ जना स्वास्थ्यकर्मी संक्रमित भइसक्यौ ।’ काफलेले भन्नुभयो, ‘यस्तो अवस्थामा थप अरु संक्रमितलाई सेवा दिन कठिनाइ छ ।’ अस्पतालमा अहिले एक सय स्वास्थ्यकर्मीहरुले तीन सिफ्टमा उपचार सेवा दिइरहेका छन् ।