डा. प्रविन श्रेष्ठ ।

हेटौंडाः हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. प्रवीण श्रेष्ठले राजीनामा दिनुभएको छ । उहाँले आइतबार बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवलाई आफ्नो राजीनामा बुझाउनुभएको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुंगेलले हेटौंडा अस्पतालका मेसु श्रेष्ठको राजीनामा दिनुभएको पुष्टि गर्नुभयो । मेसु श्रेष्ठको नियुक्ति संघीय सरकारबाट भएकाले उहाँको राजीनामालाई संघीय स्वास्थ्य मन्त्रालयमा पठाइने तयारी भएको सचिव ढुंगेलले जानकारी दिनुभयो । विगतमा संघीय सरकारअन्तर्गत् रहेको हेटौंडा अस्पताललाई संघले बागमती प्रदेश सरकारलाई अस्पतालको जिम्मेवारी केही समयअघि हस्तान्तरण गरेको थियो । तर प्रदेश सरकारले पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिएसँगै डा. श्रेष्ठ नैतिकरुपमा आलोचित बन्नुभएको थियो ।

मेसु श्रेष्ठले हेटौंडा अस्पताल विकास समितिको खातामा भएको रकम प्रतिष्ठानअन्तर्गत्को अस्पताल विकास समितिको खातामा जम्मा गर्न नसक्ने भन्दै राजीनामा दिनुभएको हो । प्रतिष्ठानले उहाँलाई अस्पताल विकास समितिको रकम झिकेर प्रतिष्ठानकै अस्पताल विकास समितिको खातामा जम्मा गर्न भनेको उहाँले बताउनुभयो । साथै अस्पतालको लोगो परिवर्तन गर्न भन्दा नसक्ने भएकाले मेसुको जिम्मेवारीबाट उहाँले राजीनामा दिनुपरेको बताउनुभएको छ ।

यसअघि अस्पताल विकास समितिको खातामा मेसु र लेखापालको हस्ताक्षर चल्ने गरेको थियो । तर गएको चैत्र २७ गते अस्पतालको बोर्डले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति, रजिष्ट्रार र लेखापालको हस्ताक्षर चल्ने निर्णय गरेको उहाँको भनाई छ । प्रतिष्ठानको सोही निर्णयको आधारमा उनीहरुलाई नै झिक्न सुझाव दिएको भन्दै आफूले सो रकम झिक्न नमिल्ने डा. श्रेष्ठले जानकारी दिनुभयो । अहिले अस्पताल विकास समितिको खातामा करिब एक करोड रुपैयाँ छ भने स्वास्थ्य बिमा बोर्डबाट साढे ४ करोड रुपैयाँ आउन बाँकी छ ।