हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगर, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकामा अत्यावश्यक उपभोग्य वस्तु विक्री गर्ने पसल बिहान ५ बजेदेखि ८ बजेसम्म मात्रै खोल्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आदेश जारी गर्नुभएको छ ।
यसअघि बैशाख २० गतेबाट बिहान ५ बजेदेखि ९ बजेसम्म पसल खोल्न पाउने आदेश जारी गर्नुभएका प्रमुख जिल्ला अधिकारी पाण्डेले मंगलबार आदेशमा संशोधन गरी पसल खोल्ने समय १ घण्टा घटाउने आदेश जारी गर्नुभएको हो ।
अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दुध, माछा, मासु, अण्डा, फालफुल तथा तरकारी) विक्री वितरण गर्ने पसल बिहान ५ बजेदेखि ८ बजेसम्म मात्रै खोल्न आदेश जारी गरिएको छ । यस्तै औषधी पसल, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने तोकिएको वर्कसप नियमित सञ्चालन गर्नु पर्ने आदेशमा उल्लेख गरिएको छ । अन्य सबै प्रकारका व्यवसाय भने बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ ।