हेटौंडाः साहित्यकार कृष्ण धरावासीले नवसर्जकलाई आत्मकथा लेख्न सिकाउनु भएको छ । नवसर्जक साहित्य चौतारी नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा धरावासीले आत्मकथा लेख्न सिकाउनु भएको हो ।
भर्चुअल (जुम) को माध्यमबाट गरिएको प्रशिक्षणमा कृष्ण धरावासीले आत्मकथा लेखनको तरिका र आत्मकथा लेखनको वर्तमान सवल तथा दुर्वल पक्षबारे विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले भविष्यमा गएर आत्मकथा लेख्न खोज्नेहरूले सानैदेखि डायरी लेखनमा ध्यान दिनुपर्ने बताउनुभयो । साथै, नेपाली आत्मकथा लेखनमा लेखकीय इमानदारिता कम देखिएको, लेखकले आफ्ना राम्रा पक्षमात्रै उजागर गरेर कमजोरी ढाकछोप गर्ने गरेको भन्दै आत्मकथा/आत्मसंस्मरणलाई स्तुतिगान बन्नबाट जोगाउनुपर्ने कुरामा जोड दिनुभयो ।
नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीका परिकल्पनाकार एवम् संरक्षक दीपक गौतम, सल्लाहकारहरू रमेशमोहन अधिकारी, डिबी बर्ताैला, ओमकुमारी बञ्जारा (रानाभाट), अर्चना दाहाल, जयन्ती आचार्यलगायत देशविदेशका ५० बढी नवसर्जकको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले आत्मकथाका साथै लेखक धरावासीका राधा, पाण्डुलिपि, झोलालगायत विभिन्न कृतिबारे जिज्ञासा राखेका थिए । चौतारीका उपाध्यक्ष विभूति अधिकारीले संस्थाको परिचयसहित स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव समर्पण न्यौपानेले सहजीकरण गर्नुभएको थियो । २०७७ जेठ १ गतेदेखि साहित्यिक अभियन्ता दीपक गौतमले नवसर्जकका लागि साहित्यिक विधाहरूको प्रशिक्षण अभियानको सुरुवात गर्दै २०७७ पुस ११ गते १७ सदस्यीय नवसर्जक साहित्य चौतारी गठन गर्नुभएको थियो ।
देश, विदेशका ५० बढी नवसर्जकहरूले यसअघि कविता विधाअन्तर्गतका हाइकु, मुक्तक, गजल, गीत, छन्द कविता, गद्य कविता, आख्यान विधाअन्तर्गतका सूत्रकथा, लघुकथा, बालकथा, आधुनिक कथा, नाटक विधाअन्तर्गतका एकाङ्की नाटक र पूर्णाङ्की नाटक तथा निबन्ध विधाअन्तर्गतका हास्यव्यङ्ग्य निबन्ध, नियात्रा÷यात्रासंस्मरण लेखनबारे प्रशिक्षण लिइसकेको र आगामी दिनमा आफूहरू धमाधम संयुक्त तथा एकल कृति प्रकाशनमा जुटिरहेको चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँले जानकारी दिनुभयो ।