हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–१, डाँडाखर्कस्थित प्रहरी चौकीको नयाँ भवन तयार भएको छ । तयार भएको प्रहरी चौकी भवनको बिहीबार उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले भवनको उद्घाटन गर्नुभयो ।
अढाई तल्ले प्रहरी चौकी भवन बागमती प्रदेश सरकारको १ करोड ९६ लाख ६६ हजार रुपैयाँमा लागतमा निर्माण गरिएको हो । नवनिर्मित भवनमा कार्यालय, महिला तथा पुरुष हिरासत कक्ष, व्यारेक, भान्छा रहेको छ । प्रहरी चौकी भवन उद्घाटनमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तान, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, वडा अध्यक्षको पनि उपस्थिति रहेको थियो ।
प्रहरी चौकी डाँडाखर्कमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जनाको दरबन्दी रहेको छ । प्रहरी चौकी भवन उद्घाटनको अवसरमा प्रहरी चौकी निर्माणका लागि जग्गा दान गर्ने स्थानीयलाई सम्मान समेत गरिएको थियो । बागमती प्रदेश सरकारको लगानीमा प्रदेशभर उल्लेख्य संख्यामा प्रहरी कार्यालय भवन निर्माण भइरहेका छन् ।