हेटौंडाः कोरोना संक्रमण भएर आइसियूमा भर्ना भएका हेटौंडाका २ जना शुक्रबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएर स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको आइसियूमा भर्ना भएका दुई जना बिरामी शुक्रबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
हेटौंडा ४ का आमाछोरीलाई नै गत आइतबार आइसियूमा भर्ना गरिएको थियो । ५ दिनमा उनीहरुको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको डा. नेहा गुप्ताले जानकारी दिनुभयो । उनीहरु कोरोना संक्रमणमुक्त नभएपनि स्वास्थ्य सामान्य रहेकाले आइसियूमा राख्न नपर्ने उहाँको भनाइ रहेको छ । उनीहरुलाई होम आइसोलेशनमा बस्न समेत निर्देशन दिइएको डा. गुप्ताले बताउनुभयो ।
हेटौंडा अस्पतालमा नै संक्रमित बिरामीका लागि आइसियूको व्यवस्था हुँदा उपचार गराउन धेरै सहज भएको बिरामीका आफन्त जानकी खत्री कार्कीले बताउनुभयो । हेटौंडामा यत्तिको व्यवस्था हुँदा संक्रमित विरामीलाई जिल्ला बाहिर लैजानुपर्ने समस्या झेल्नुनपरेको उहाँको भनाइ रहेको थियो । उपचारमा खटिएका डाक्टर तथा नर्सले पनि राम्रो उपचारका साथै राम्रो व्यवहार गर्ने गरेको बिरामीले जानकारी गराएको कार्कीले बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीको राम्रो व्यवहारका कारण पनि बिरामी चाँडै स्वस्थ हुन हौसला मिलेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
अहिले हेटौंडा अस्पतालको आइसियूमा ८ जना संक्रमित रहेका छन् । जसमध्ये २ जनाको अवस्था भने एकदमै गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरुलाई लगातार अक्सिजन लगाएर राखिएको डा. गुप्ताले जानकारी दिनुभयो ।