हेटौंडाबाट पदमपोखरी हुदैं जाने बस यात्रुहरु ।

हेटौंडाः मकवानपुर जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमण हुनसक्ने जोखिम बढेको छ । सार्वजनिक सवारी साधन तथा यात्रुहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको हो ।

सवारी साधनबाट भिडभाड बढेको भन्दै जोरबिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढेको छ । बजार क्षेत्रमा भिडभाड हुन नदिन प्रहरी तथा नगरपालिकाले माइकिङ गरेर सचेत बनाइरहेको छ । सार्वजनिक स्थानमा मास्क नलगाउने तथा जोरबिजोरको नियम उल्लंघन गर्नेलाई कारबाही पनि सुरु गरेको छ । कोरोना संक्रमण फैलन नदिन यात्रुबाहक सार्वजनिक सवारीमा हुने भिडभाडलाई पनि नियन्त्रण गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।

हेटौंडा बजारबाट नगरका अन्य क्षेत्रमा सञ्चालन हुने म्याजिक तथा बसहरुमा क्षमताभन्दा बढी यात्रु राख्न नदिन र यात्रु तथा सवारी सञ्चालकले स्वास्थ्य मापदण्ड पालना गराउन उचित अनुगमन हुन नसकेकोमा सर्वसाधारणले गुनासो गरेका छन् । यस्तै, बजार क्षेत्रमा सञ्चालन हुने तीनपाङ्ग्रे सवारी तथा जिल्लाका विभिन्न स्थानमा जाने बसहरुमा पनि सुरक्षा मापदण्डको पालना गराउन आवश्यक देखिएको छ ।