हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीहरुको चाप बढेसँगै प्रशासनले बार अनुसार नागरिकलाई सेवा दिने भएको छ ।

मकवानपुरको दशै स्थानीय तहको नागरिकहरुलाई यसअघि एकै दिन सेवा दिँदै आएपनि मंगलबारबाट भने बार अनुसार स्थानीय तहका नागरिकहरुले सेवा पाउँने भएका हु्न् । नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी बनाउन सबै स्थानीय तहका नागरिकहरु आउँदा कोभिडको जोखिम बढेको भन्दै बार अनुसार सेवा दिन लागिएको मकवानपुर प्रशासनले जनाएको छ ।

सोमबार एक सुचना जारी गर्दै प्रशासनले आइतबार र सोमबार मकवानपुरको थाहा नगर, राक्सिराङ, कैलाश र ईन्द्रसरोबर गाउँपालिकाको नागरिकहरुलाई सेवा दिने जनाएको छ । यस्तै मंगलबार र बुधबार बागमती, बकैया, मकवानपुरगढी र भीमफेदी गाउँपालिकाका नागरिकले सेवा पाउँने छन् ।

बिहीबार र शुक्रबार हेटौंडा र मनहरी गाउँपालिकाका नागरिकलाई सेवा दिने व्यवस्थापन भएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । कोभिड संक्रमणको जोखिम बढेको भन्दै बार अनुसार नागरिकलाई सेवा दिन लागिएको उहाँको भनाई छ । यस्तै शान्ति सुरक्षा, मुद्धा, कोभिड सम्बन्धी नियमित कामहरु भने संचालन हुने उहाँले जानकारी दिनुभयो ।