हेटौंडाः हेटौंडास्थित नारायणी अञ्चल आयुर्वेद औषधालयको अर्धवार्षिक समीक्षा कार्यक्रम बिहीबार हेटौंडामा भएको छ । अर्धवार्षिक समीक्षाका क्रममा अञ्चल आयुर्वेद औषधालयका साथै मातहतका औषधालय तथा आरोग्य सेवा केन्द्रमा औषधीको अभाव भएको बताइएको छ । आयुर्वेद उपचार पद्दतिप्रति बढ्दो आकर्षणसँगै औषधीको अभाव भएको नारायणी अञ्चल आयुर्वेद औषधालयकी प्रमुख डा. श्रृष्टि श्रेष्ठले जानकारी दिनुभएको छ ।
अर्धवार्षिक समीक्षामा कार्यालयको तर्फबाट प्रस्तुती गर्नुहुँदै डा. श्रेष्ठले चालु आर्थिक वर्षमा जिल्लाका ४ स्थानमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुनु महत्वपूर्ण उपलब्धी भएको बताउनुभएको छ । गत माघ महिनामा अञ्चल आयुर्वेद कार्यालयले मकवानपुरको थाहा नगरपालिका, बागमती, बकैया र कैलाश गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको हो । यस्तै अञ्चल आयुर्वेद औषधालयले स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा आयोजित समीक्षामा डा. श्रेष्ठले आयुर्वेद अस्पताल स्थापना गर्न जमिनको अभाव भइरहेको र जनप्रतिनिधिहरुको सहयोगमा जग्गा उपलब्ध भए प्रदेश सरकार र संघीय सरकारको सहयोगमा आयुर्वेद अस्पताल गर्न सकिने जानकारी दिनुभयो । औषधालयले अस्पताल स्थापनासँगै नमूना जडिबुटि उद्यान, विद्यालय तहमा आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम, महिला स्वास्थ्य स्वयम्सेविकालाई आयुर्वेद उपचार पद्दतिबारे अभिमुखीकरण गराउने योजना रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको हटिया, चुरियामाई तथा राक्सिराङ गाउँपालिकास्थित आयुर्वेद औषधालयका प्रमुखहरु, यसैवर्ष स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुखहरुले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. श्रृष्टि श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशको योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेतको प्रमुख आतिथ्यमा भएको समीक्षा कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तान, हेटौंडा उपमहानगरका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।