सनैयामाथि छलफलमा सहभागी समीक्षक तथा वैदेशिक रोजगारीबाट फर्किएकी एक महिला ।

हेटौंडाः पत्रकार होम कार्कीको कृति ‘सनैया’को गृहविमोचन तथा समीक्षा कार्यक्रम भएको छ । शुक्रबार हेटौंडामा सर्जक सञ्जाल मकवानपुरको आयोजनामा गृह विमोचन तथा समीक्षा कार्यक्रम भएको हो । दश जोड दुई तह र स्नातक तहमा हेटौंडामै रहेर पत्रकारिता विषयको अध्ययन पूरा गर्नुका साथै पत्रकारिताको अभ्यास गर्नुभएका कार्कीले काठमाडौंमा स्नात्तकोत्तर तहको अध्ययन पूरा गर्दै कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ ।

४ वर्ष कतारमा रहेर श्रमिकका मुद्दामा समाचार लेख्नुभएका पत्रकार कार्कीको कृति ‘सनैया’मा घनश्याम घिमिरे र सुवास खनालले समीक्षा गर्नुभएको थियो । गृहजिल्लामा लेखकका बुबा मीनबहादुर कार्की र आमा सुवित्रा कार्कीले पुस्तकको विमोचन गर्नुभएको हो । पुस्तकको गृहविमोचनपछि समीक्षा कार्यक्रम भएको थियो । नेपाली भाषा, साहित्यका प्राध्यापक एवम् समीक्षक घनश्याम घिमिरेले होम कार्कीको कृति ‘सनैया’ पत्रकारको अनुभूतिमा आधारित खाडी मुलुकको वास्तविकताको महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । उहाँले ‘सनैया’ लाई साहित्यिक कृतिको रुपमा बुझ्न नहुने र त्यसरी बुझ्दा कृति र लेखक दुवैमाथि अन्याय हुने बताउनुभयो । लेखक साहित्यकार नभई पत्रकार भएको र खाडी मुलुकमा नेपाली मजदुरले भोगेका समस्याको वास्तविकता चित्रण हुनु नै पुस्तकको मूल विशेषता भएको समीक्षक घिमिरेको भनाइ थियो ।

सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा अर्का समीक्षक सुवास खनालले ‘सनैया’ आम नेपाली मजदुरको कथा भएको बताउनुभयो । मजदुरीका लागि खाडी मुलुकमा रहेका नेपालीको पीडादायी कथा ‘सनैया’ मा समेटिएको समीक्षक खनालले बताउनुभयो । बैदेशिक रोजगारीबाट फर्कनुभएकी प्रतिमा घिमिरेले पनि खाडी मुलुकमा रोजगारीका अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा पत्रकार प्रताप विष्टले पत्रकार होम कार्कीको चरित्रका बारेमा उल्लेख गर्नुहुँदै आम मान्छेको कथा लेख्ने होम कार्कीले खाडीमा नेपालीका सुख, दुखलाई लेखेको बताउनुभयो । पत्रकारको दायित्व निर्वाह गर्दै गर्दा होम कार्कीले सुन्दर कृति सार्वजनिक गर्न सफल भएको पनि विष्टको भनाइ थियो । किताव पब्लिसर्सले प्रकाशन गरेको कृति सनैया चैत अन्तिम साता काठमाडौंमा लोकर्पण गरिएको थियो । गृहविमोचनको अवसरमा उल्लेख्य संख्यामा सनैया पाठकले खरिद गरेका छन् ।