बाराः हेटौंडाको एफसी विजय युथ विश्वकर्मा सिमेन्ट एघारौं जीतपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम ८ मा पुगेको छ । सिमरा रंगशालामा शुक्रबार साम्झ सुदूरपश्चिम ११ धनगढीलाई २–० ले हराउँदै सातौं संस्करणको विजेता समेत रहेको विजय युथ अन्तिम ८ मा पुगेको हो । सेमिफाइनलका लागि विजय युथले अब संकटा क्लबको सामना गर्नेछ ।

हेटौंडाको जितमा नवराज गुरुङ र विकास लामाले गोल गरे । खेलको १६ औं मिनेटमा नवराजको गोलबाट हेटौंडाले अग्रता लिएको थियो । खेलमा फर्कन संघर्ष गरेको सुदुरपश्चिमले अवसर बनाएपनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिएको छ । ७५ औं मिनेटमा विकासले गोल गर्दै विजय युथलाई जिततर्फ अघि बढाएका थिए । सुदूरपश्चिमका सुनिल धामीले हेटौंडाका सन्तबहादुर गुरुङलाई फाउल गरेपछि पाएको फ्रिकिकमा विकासले गोल गरेका थिए । झन्डै २५ यार्डबाट विकासको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

सुदूरपश्चिमले खेलमा केहि मौका पाउँदा पनि सदुपयोग गर्न सकेन । खेलको १८ औं मिनेटमा विनोद केसीले पेनाल्टी बक्सबाट गरेको सशक्त प्रहार हेटौंडाका गोलकिपर अशोक बरालले रोके । ३६ औं मिनटमा सुनिलको क्रसमा शक्ति राईले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार अशोकले जोगाए ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा सुदूरपश्चिमका विनोद को क्रसमा बल शक्ति पेनाल्टी बक्समा सम्हाल्न नसक्दा गोल गर्ने अवसर चुक्यो । म्यान अफ दि म्याच घोषित हेटौंडाका नवराज गुरुङले ५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा शनिबार हिमालयन शेर्पा क्लब र आयोजक नव जनजागृती सिमराबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन शेर्पाले वाई पाएर सिधै क्वार्टरफाइनल खेल्दैछ । आयोजकले उद्घाटन खेलमा मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिलाई हराएको थियो ।