हेटौंडाः अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भीमफेदी गाउँपालिका कमिटीले नयाँ वर्षको अवसरमा भीमफेदी गाउँपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा आयोजक भीमफेदी गाउँपालिका कमिटी विजयी भएको छ ।
४ टिमको सहभागितामा सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजकले बाराही माविलाई २५–२१ र २५–१७ अंकले २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । प्रतियोगिताको विजेता र उपविजेता बनेको टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने उद्देश्यसहित मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु भीमफेदी गाउँपालिका संयोजक राजीव परियारले जानकारी दिनुभयो । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।