हेटौंडाः पछिल्लो समय मकवानपुर जिल्ला खेलकुदको क्षेत्रमा ब्यस्त बन्दै गएको छ । गएको केही महिनायता मकवानपुरमा खेलकुदका कार्यक्रममा खेलाडी तथा खेल क्षेत्रका पदाधिकारीहरु ब्यस्त रहेका छन् ।

वडास्तरमा हुने साना प्रतियोगिताहरुबाहेक नै जिल्लामा नै खेलकुदका ठूला प्रतियोगिताहरु महिनैपिच्छे भएका छन् । गतवर्षको माघ अन्तिमबाट विजय युथ क्लबको आयोजनामा भएको हेटौंडा गोल्डकपपछि हेटौंडासहित मकवानपुरमा नै खेलकुदका कार्यक्रमहरु निरन्तररुपमा भएको पाइन्छ । फागुनमा हेटौंडामा भएको नगरस्तरीय मेयर कप फुटबल तथा उपमेयर कप भलिबल प्रतियोगिताले हेटौंडाभरीका फुटबल र भलिबलका खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गरेको छ ।

त्यसलगत्तै भएको तेस्रो शहीद स्मृति मकवानपुर गोल्डकप, बाग्मती गोल्डकप, जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता भए । भर्खरै सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले मकवानपुरभरीका विद्यालयस्तरका खेलाडीहरुलाई समेत ब्यस्त बनाएको थियो भने खेलप्रेमी दर्शककहरुलाई समेत मनोरञ्जन प्रदान गरेको थियो ।

फुटबल खेलाडीको उर्बरभूमि मानिने मकवानपुर जिल्लामा फुटबलमै पछिल्लो समयको उपलब्धि हेर्ने हो भने पनि पिप्ले युवा क्लबले सार्लाहीमा जितेको पाचौं राजर्षि जनक कप रनिङशिल्ड फुटबलको १० लाख रुपैयाँ धनराशिको उपाधिलाई जिल्लाको हालसम्मकै ठूलो उपलब्धि मान्न सकिन्छ । १० लाख धनराशिकै मकवानपुर गोल्डकपमा आयोजक उपविजेता र हेटौंडा गोल्डकपमा आयोजक नै विजेता बन्नु पनि उत्तिकै सम्मानजनक छ ।

यसैगरी मकवानपुरकै उत्पादनको रुपमा रहेका अन्जन विष्ट, सुनिल बलले फुटबलबाट राष्ट्रकै नाम उच्च बनाइरहेका छन् भने पूर्वराष्ट्रिय खेलाडीहरु अमीर श्रेष्ठ, रन्जन विष्टलगायतका खेलाडीहरु पनि अझै खेल क्षेत्रमा आबद्ध भएर खेलिरहेका छन् । फुटबलमै नेपालकै प्रतिष्ठित ए डिभिजन क्लब र विभागीय क्लबमा समेत मकनानपुरका डेढ दर्जन खेलाडी आबद्ध छन् । यस्तै अन्य खेलमा समेत मकवानपुरका खेलाडीले राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गरिरहेका अवगत नै छ ।

यस्तै, यसैवर्षको जेठ र असार महिना मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्ने जिल्ला लिग फुटबलले मकवानपुर ब्यस्त बन्ने निश्चित भइरहँदा बैशाख महिना पनि उत्तिकै ब्यस्त बन्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको संयोजनमा अन्तरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

यही बैशाख ९ गतेदेखि १९ गतेसम्म मकवानपुरका १० वटै स्थानीय तहका १० वटा टिमको सहभागितामा फुटबल प्रतियोगिता आयोजना हुने जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ । टिममा सम्बन्धित पालिकाभित्रकै खेलाडीहरुमात्र समावेश गर्न पाइने पनि समितिले जनाएको छ ।

स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा सहभागी टिमले अन्तर्राष्ट्रिय खेल खेलेका, जिल्लाभन्दा बाहिरका तथा सम्बन्धित पालिकाभन्दा बाहिरका समेत खेलाडी समावेश गर्न नपाइने जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानुकुमार लामाले बताउनुभयो । प्रतियोगिताको तयारी तिब्ररुपमा चलिरहेको र खेल हुने मैदानमा माटो भर्ने तथा पानी हाल्ने कामसमेत सुरु भएको उहाँले जानकारी दिनुभयो ।

हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेता टिमले २ लाख रुपैयाँ तथा उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै बिधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि उपसमिति गठन
बैशाख ९ गतेदेखि आयोजना हुने अन्तरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको लागि मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघको संयुक्त बैठकले विभिन्न उपसमितिहरु बनाएकोे छ ।

प्रतियोगिताका लागि विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको छ । चौर व्यवस्थापनमा सुनिल लोप्चन, प्राविधिक समितिमा कल्पना शर्मा, स्वास्थ्य समितिमा निरुकुमारी मगर, अतिथि सत्कारमा सानुकुमार लामा, अनुशासन समितिमा देवराज रिमाल, टिम व्यवस्थापनमा युनाल मल्ललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी स्वयम्सेवक परिचालनमा किशोर श्रेष्ठ, मञ्च व्यवस्थापनमा विमल थापा मगर, प्रचारप्रसारमा विवश अधिकारी तथा पुरस्कार व्यवस्थापनमा राजन (खुसराज) दाहालको संयोजकत्वमा जिम्मेवारी दिइएको जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष सानुकुमार लामाले जानकारी दिनुभयो ।