हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुरले जिल्लाका विभिन्न स्थानीय तहमा विपद प्रतिकार्यका लागि तालिम प्रदान गरेको छ । विपद जोखिम न्यूनीकरणका लागि दक्ष स्वयम्सेवक तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
बागमती गाउँपालिकाको वडा नम्बर ५ तथा बकैया गाउँपालिकाको वडा नम्बर ४ मा तालिम सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री खेमराज सापकोटाको प्रमुख आतिथ्यतामा तालिम सञ्चालन गरिएको हो ।
प्रत्येक वडाका १२–१२ जना स्वयम्सेवकलाई विपद प्रतिकार्यका लागि तालिम प्रदान गरिएको रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री सापकोटाले जानकारी दिनुभयो । यस्तो तालिम जिल्लाका सबै स्थानीय तहका जोखिमासन्न वडाहरुमा दिइने सापकोटाले बताउनुभयो । तालिमसँगै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।
तालिममा बागमती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धिमान माझी, बकैया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजन दंगाल, लक्ष्मण भट्टराई, कृष्ण चौलागाई र मंगल रखाललगायतको उपस्थिति थियो ।