हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शनिबार मुक्तक साँझ–२०७७ आयोजना गरिएको छ । हरेक वर्षको चैत महिनाको चौथो शनिबार झरनाले टिकटमा मुक्तक कार्यक्रम गर्दै आइरहेको छ । नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशिसहितको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७७ बाट अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले मकवानपुरमा मुक्तकको राम्रो माहोल रहेको र मुक्तकलगायत अन्य साहित्यिक विधामा समेत झरनाले उल्लेख्य कार्य गरेकोमा प्रशंसा गर्नुहुँदै मकवानपुरमा नयाँ पुस्ताहरूमा समेत मुक्तक लेखनको राम्रो सम्भावना भएको र अब पुराना पुस्ताका अनुभव र ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा मकवानपुरका बिर्खे अञ्जान, गोरखाका सन्तोष अम्गाइँ, सिन्धुलीका लोकेन्द्र डहरे, काठमाडौंका त्रिपुरा पौडेल, कास्कीकी अनिता दाहालले एक÷एक दर्जन मुक्तक वाचन गर्दा कार्यक्रमस्थलमा उपस्थित श्रोताले प्रशंसा गरेका थिए ।
‘सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान’ अन्तर्गत झरनाले आयोजना गरेको माध्यमिक तह (कक्षा ९–१२) स्तरीय मुक्तक प्रतियोगितामा विजयी भएका जीएस निकेतनकी छात्रा उषाकिरण अधिकारीले नगद १५ सय ५५ नगदसहित शिव–सावित्री अधिकारी स्मृति नवप्रतिभा मुक्तक पुरस्कार–२०७७ प्राप्त गर्नुभएको छ । मुक्तक प्रतियोगिताको निर्णय विश्वनाथ सञ्जेल र भवानी तिमिल्सिना न्यौपानेले गर्नुभयो ।


कार्यक्रममा वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्ले, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, संस्थाका सल्लाहकार एवम् पुरस्कार संस्थापक रमेशमोहन अधिकारी, पोखरेली सा“स्कृतिक परिवारका सचिव डा. चैतन्य अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मकवानपुरे अग्रज व्यङ्ग्यकार आरसी रिजाल, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, आँचल साहित्य, साहित्य पुञ्जकी अध्यक्ष अनिता न्यौपाने, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्ति प्रियबन्दना, नेपाली लेखक संघका अध्यक्ष विष्णुप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो । झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण झरनाका सचिव मसान उपासकले गर्नुभएको थियो ।