शनिबार नै सम्पन्न भएको मार्शल आर्टतर्फको खेलमा हेटौंडाले सर्वाधिक १५ स्वर्ण हात पारेको छ । तेक्वान्दो र उसुतर्फ छात्र र छात्रा गरी ६÷६ विधाका सम्पूर्ण स्वर्ण पदकमा हेटौंडाले कब्जा गरेको छ भने सितेरियो कराँतेमा ३ स्वर्ण जितेको छ । सितेरियो कराँतेमा छात्रातर्फ ४५ केजीमा बालउज्ज्वल मावि हेटौंडाकी श्रृष्टि घलान प्रथम, ५० केजीमा महेन्द्र मावि बकैयाकी बविता सिमल्सिना प्रथम र ४० केजीमा प्रभात मावि बकैयाकी सलिना पाख्रिन प्रथम भएका छन् ।

छात्रतर्फ ५२ केजीमा महेन्द्र किरण मावि हेटौंडाका सुरेन्द्र रुम्बा प्रथम, ४७ केजीमा इवन बोर्डिङ स्कूल थाहानगरका गौरव थापा प्रथम र ४२ केजीमा महेन्द्र किरण मावि हेटौंडाका अतित लामा प्रथम भएको प्रशिक्षक नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै गौरव थापा मगर र श्रृष्टि घलान उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यस्तै, उसुतर्फ भएको ६ विधाको खेलमा सम्पूर्ण स्वर्ण पदक हेटौंडाका खेलाडीले जितेका छन् । छान्क्वानमा सोलिड्यारिटीका प्रतीक ठकुरी र आमसाई माविकी नुवा भ्लोन, नान्क्वानमा आमसाईका सुरज बस्नेत तथा प्रगतिकी छिरिङ डोल्मा सिन्तान तथा ताईचीक्वानमा आधुनिकका सेवित थापा र जीएसकी रीतिका केसी छनौट भएको उसु प्रशिक्षक विमल थापा मगरले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत् छात्रा भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ । लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको सेमिफाइनलमा भानु मावि गढी, जनता मावि बागमती, महेन्द्र मावि बकैया र जनकल्याण मावि थाहानगरले स्थान बनाएका छन् । छात्र भलिबलमा भने क्वार्टरफाइनलतर्फका खेलहरु भइरहेको छ । यस्तै, कबड्डीका पहिलो चरणका खेलहरु सकिएका छन् भने आज सोमबार सेमिफाइनल र फाइनल खेल हुने बताइएको छ ।