हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका छन् । पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको सपथ ग्रहणमा निर्वाचित अध्यक्ष मणिराज गौतम लगायत सबै पदाधिकारीहरुले सपथ लिएका हुन् ।

यस्तै अध्यक्ष पदमा निर्वाचित मणिराज गौतमले आजै आफ्नो पदभार पनि ग्रहण गर्नुभएको छ । निर्वाचित अध्यक्ष गौतमले अघिल्लो कार्यसमिति भन्दा अहिलेको कार्यसमितिलाई काम गर्न थप चुनौती भएपनि सबैको सहकार्यमा अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष गौतमले पत्रकार पेन्सन कोषको रकमलाई वृद्धि गरेर ५० लाख सम्म आफ्नो ३ वर्ष कार्यकालमा पुर्याउने बताउनुभयो । औद्योगिक क्षेत्रहरुसँग सहकार्य गर्दै साना मिडीया टिकाउ अभियान पनि सुरु गर्ने उहाँले बताउनुभयो । संघीय संरचनामा देश गइसकेका कारण विज्ञापन अब स्थानीय स्तरमा दिइने व्यवस्थापन गर्न आफु कटिबद्ध भएको उहाँको भनाई छ । उहाँले चुनावमा आफ्ना प्रतिस्पर्धी पराजित भएपनि प्रतिस्पर्धीको चुनावी ऐजेन्डामा पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै अध्यक्षमा पराजित भएका बालकृष्ण चौलागाईले चुनावी मैदानमा हार व्यहोरे पनि सधै पत्रकार महासंघको सल्लाकारमा रहने बताउनुभयो । उहाँले अहिलेको कार्यसमितिले फरक र नयाँ कामहरु गर्नुपर्नेमा जोड दिनुभयो । सपथ ग्रहण कार्यक्रममा अघिल्लो कार्यसमितिको जिम्मेवारी तथा माइनट अहिलेको नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई हस्तान्तरण भएको छ ।
कार्यक्रममा बागमती प्रदेश पत्रकार महासंघमा निर्वाचित अध्यक्ष शिव देवकोटा, मकवानपुरको निर्वतमान अध्यक्ष हरि हुमागाई, पूर्वअध्यक्षहरु प्रताप विष्ट, राममणि दाहाल, भानु आर्चाय लगायत निर्वाचन समितिका धु्रव चौलागाई, मधु आचार्य, जिल्ला अदालत बार एसोसिएसन मकवानपुरका अध्यक्ष ऋषि केबि लगायएको उपस्थिति थियो । यसैगरी आज दिउँसो १ बजे बागमती प्रदेश पत्रकार समितिको अध्यक्ष तथा पदाधिकारीहरुको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।