हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बलात्कारसम्बन्धी ३१ वटा मुद्धा दर्ता गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्ला प्रहरी कार्यालयमा बलात्कारसम्बन्धी ३१ वटा मुद्धा दर्ता भएको हो ।
प्रहरीकहाँ दर्ता भएका ३१ वटा बलात्कारका घटनाका ३१ जना अभियुक्तमध्ये प्रहरीले २० जना अभियुक्तलाई पक्राउ गरेको छ । बलात्कारको अभियोग लागेका ११ जना भने अहिलेसम्म फरार नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७४/०७५ मा २२ वटा बलात्कारसम्बन्धी मुद्धा दर्ता गरिएको थियो । जसमध्ये बलात्कारको आरोपी १८ जनालाई प्रहरीले पक्राउ गरिसकेको तथा ४ जना अहिले पनि फरार रहेको प्रहरीको तथ्यांक छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा मकवानपुर प्रहरीले ३२ वटा बलात्कारसम्बन्धी मुद्धा दर्ता गरेको थियो । जसमध्ये बलात्कारका आरोपी २६ जनालाई प्रहरीले पक्राउ गरिसकेको तथा ६ जना अहिले पनि फरार रहेको प्रहरी उपरीक्षक रिमालले जानकारी दिनुभयो ।
आर्थिक २०७६/०७७ मा जिल्ला प्रहरी कार्यालयमा ३६ वटा बलात्कारसम्बन्धी मुद्धा दर्ता गरिएको थियोे । जसमध्ये बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरिसकेको तथा ५ जना अहिले पनि फरार रहेको प्रहरीको तथ्यांक छ ।
समाजमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले पनि जिल्लामा वर्षेनि बलात्कारका घटना बढ्दै गएको पुष्टि गर्दछ । बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासम्म हुने गरेको पाइन्छ ।
प्रेम सम्बन्धका कारण बालबालिकाबीच सहमतिमै यौनसम्बन्ध राख्ने पछि अरुले थाहा पाएपछि बलात्कारको नाम दिने प्रवृत्ति पनि बढ्दै गएको पाइन्छ । पीडितका आफन्त, नातेदार तथा चिनजानकै व्यक्तिबाट बढी बलात्कार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले पनि बलात्कार गरेर फरार भएका अभियुक्त तथा आरोपीलाई पक्राउ गरेर कानुनी कारबाहीमा ल्याउन प्रहरी सक्रिय बनेको रिमालले बताउनुभयो ।