हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबारबाट पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । मनहरी–७ स्थित रोटरी माविको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष सानु लामाले गर्नुभएको होे । प्रतियोगिताको उद्घाटन कार्यक्रम रोटरी मँध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम बानियाँको सभाध्यक्षतामा भएको थियो ।
प्रतियोगितामा पालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगितामा छात्रा र छात्रको भलिबल, कबड्डी, ज्याभलिङ थ्रो, सटपुट र विभिन्न दुरीका दौड प्रतियोगितामा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि गाउँपालिकाले ३ लाख रुपैयाँ प्रदान गरेको रोटरी माविका प्रधानाध्यपक गोविन्द पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रतिस्पर्धा गर्नेछन् ।