सेमीफाइनल प्रवेश गरेको थाहा नगरको महिला भलिबल टिम ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १९ नम्बर वडा समितिको आयोजनामा बिहीबारबाट सुरु भएको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार भएको खेलमा विजयी हेटौडा–१९, थाहा नगरपालिका, हटिया स्पोर्टस् एकेडेमी र बकैया गाउँपालिका टिम सेमिफाइनल प्रवेश गरेको हो ।

हटिया स्पोर्टस् एकेडेमीले गोल्डेन स्टार क्लब, हेटौंडा–९ लाई २–१ को सेटले पराजित गरेको छ । यस्तै, आयोजक वडा हेटौंडा–१९ ले हेटौडा–११ लाई २–० को सोझो सेटले पराजित गरेको छ । यस्तै, बकैया गाउँपालिकाले गढी स्टार स्पोर्टस् क्लबलाई २–० को सोझो सेटले पराजित गर्दा थाहा नगरपालिकाले गोल्डेन स्टार क्लबलाई २–० को सोझो सेटमा पराजित गरेको छ । शुक्रबारै भएको खेलमा थाहा नगरपालिकाले हटियालाई २–१, बकैयाले हेटौंडा–११ लाई २–० को सेटले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक १९ नम्बर वडासहित हेटौंडा उपमहानगरपालिकाका २, ९, ११ र १७ नम्बर वडाको टिम, थाहा नगरपालिका, बकैया र मकवानपुरगढी गाउँपालिका गरी ८ वटा महिला भलिबल टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र दोस्रो हुने टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुबै टिमलाई सान्त्वनास्वरुप नगद ५–५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, १९ नम्बर वडा समितिकै आयोजनामा जारी वडाका टोल विकास संस्थास्तरीय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार भएकोे खेलमा पुल्चोक टोल विकासले महादेव टोल विकासलाई २–० को सेट पराजित गरेको छ । जागरण टोल विकासले मउवाटार टोल विकासलाई २–०, प्रपोगन टोल विकासले चन्द्रुसोला टोल विकासलाई २–०, क्याम्पाडाँडा टोल विकासले शान्तिटोल टोल विकासलाई २–१ को सेटले पराजित गरेको छ । यस्तै, प्रगतिशील टोल विकासले पुल्चोक टोल विकासलाई २–० को सेटले, बासुदेव टोल विकासले सातधारा टोल विकासलाई २–१ को सेटले, लोकतान्त्रिक टोल विकासले कुवापानी टोल विकासलाई २–० को सेटले, बर्केले टोल विकासले महादेव टोल विकासलाई २–० को सेटले, बासुदेव टोल विकासले मउवाटार टोल विकासलाई २–० को सेटले र क्याम्पाडाँडा टोल विकासले कुवापानी टोल विकासलाई २–० को सेटले पराजित गरेको छ ।

प्रतियागितामा १९ नम्बर वडाका १४ टिमको सहभागिता रहको छ । प्रतियोगिताको प्रथम हुने टिमले १५ हजार रुपैयाँ, दोस्रो हुने टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पराजित हुने टिमलाई सान्त्वनास्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ । फाइनल प्रवेशका लागि थाहा नगरले बकैया गाउँपालिकाको महिला टिमसँग शनिबार दिउँसो ३ बजे खेल्नेछ ।