हेटौंडाः बागमती प्रदेश सरकारले हेटौंडा–१ को राप्ती खोलाको बीचबाट बाइपास सडक निर्माण गरिरहेको छ । प्रदेश सरकारले चौकीटोलको झोलुङ्गे पुल नजिकैबाट राप्ती पुलसम्म २ हजार २ सय मिटर लम्बाइको बाइपास सडक निर्माण गरिरहेको हो । १० मिटर चौडा भएको सडक २ लेनको बन्नेछ । बाइपास सडक पिच नभएर ग्राभेलमात्र हुनेछ ।
खोलाको बीचबाट बाइपास सडक निर्माण कार्य सुरु भएपश्चात् स्थानीय गणेश पौडेल निकै खुशी हुनुहुन्थ्यो, घरमुनि फराकिलो बाटो आयो भनेर । बस्ती जोगाउन बाइपास सडकको भूमिका महत्वपूर्ण हुने देखिएको छ । बाइपास सडकको किनारमा तारजारी र ढलान भएपछि खोलाबाट बस्ती सुरक्षित हुनेमा उहाँ खुशी हुनुभएको हो ।
यसअघिको पुरानो बाइपास सडक र अहिले बन्दै गरेको सडकको बीचको दुरी भने करिब ५० मिटर छ । पहिले खोलाको किनारबाट बाइपास सडक थियो, अहिले स्थानीयको नम्बरी जग्गा जोगाउँदा बाइपास सडक खोलाको बीचमा बन्न पुगेको हो ।
स्थानीयको नम्बरी जग्गा खोलामा परेको थियो । कुनै योजना नबन्दा सो स्थान बगर नै थियो । एकाएक प्रदेशले बाइपास सडक निर्माण सुरु गरेपछि जग्गासम्बन्धी विवाद भयो । स्थानीयले आफ्नो जग्गामा बाइपास सडक निर्माण हुन नदिने भन्दै अदालतको गेटसम्म पुगेका थिए । बल्लतल्ल फर्काएर ल्याएको सम्झिनुहुन्छ, हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपाने । उहाँ भन्नुहुन्छ– ‘जग्गा विवाद मिलाउन निकै कसरत गर्नुपर्यो । आफ्नो नम्बरी जग्गा छोड्न मानेकै थिएनन्’, न्यौपानेले भन्नुभयो– ‘उद्योग वाणिज्य संघमा पटकपटक आफ्नै नेतृत्वमा समिति बनाएर सहमतिमा ल्याएँ ।’
अहिले ८ देखि १० मिटरसम्म जग्गा स्थानीयले बाटोका लागि छाडेका छन् । प्रदेश सरकारले भने बाइपास सडकमा पर्ने जग्गाको क्षतिपूर्ति कसैलाई पनि दिएको छैन । प्रदेशले राप्ती पुलदेखि हेटौंडा–१० को त्रिवेणी कुष्माण्ड धाम नजिकैसम्म’ एक हजार ७ सय मिटरको बाइपास सडक निर्माणको काम अर्को प्याकेजमा गरिरहेको छ ।
दुई प्याकेज बनाएर बाइपास सडक निर्माण भइरहेको यातायात तथा पूर्वाधार निर्देशनालय बागमती प्रदेशको निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो । चौकीटोलको झोलुङ्गे पुलबाट राप्ती पुलसम्मको बाइपास सडक आगामी कार्तिक २९ गतेसम्म सम्पन्न हुनेगरी १३ करोड ४४ लाख रुपैयाँको लागतमा बनिरहेको छ । कहिले जग्गा विवाद, कहिले प्रशासनिक कुरा र कहिले ठेकेदारका कारण काममा ढिलाई भएको निर्देशक भण्डारीले जानकारी दिनुभयो । अहिले दुबै ठेक्काको काम द्रुत गतिमा भइरहेको उहाँले बताउनुभयो ।
राप्ती पुलबाट त्रिवेणी धामसम्म ८ करोड ४७ लाख रुपैयाँको लागतमा बाइपास सडक निर्माण भइरहेको छ । हेटौंडाको चौकीटोलबाट सुरु भएको बाइपास सडक ३ हजार ९ सय मिटरसम्म बन्ने पक्का भएको छ । तर त्रिभुवन राजपथसँग कहाँ जोड्ने भन्ने टुंगो लागेको छैन । बाइपासलाई अझै लम्ब्याउने वा कर्रा किनारबाटै त्रिभुवन राजपथसँग जोड्ने कुरामा अन्यौलता देखिन्छ । हेटौंडा–१० कर्रा खोलाको किनार र हेटौंडा १५ रातोमाटेमा बाइपास सडक मुख्य राजमार्गमा जोड्न सकिन्छ ।
बाइपास सडकको निरीक्षण गर्न स्थानीय जनप्रतिनिधिदेखि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमेत पटकपटक निर्माणस्थलमा पुग्ने गर्नुभएको छ । मुख्यमन्त्री पौडेल निर्माण कार्यस्थलमा पुगेर समयमै काम पूरा गर्न र गुणस्तरमा ध्यान दिन निर्देशन दिँदै फर्कने गर्नुभएको छ ।